दार्चुला । शैल्यशिखर नगरपालिकाको चमेलिया प्रभावित शिखर क्षेत्रमा बिजुली बलेको छ । शैल्यशिखरको वडा नम्बर १ अन्तरगत बाँज, तल्लो थला, दलित बस्ती तल्लो थला, बकिल्ले इजर, मल्लाशैजी, गडानी, जेबलधार लगायत गाउँमा बिजुली बत्ती बलेको स्थानीय पदम खडायतले जानकारी दिनुभयो ।
साविकको शिखर गाबिसको वडा नम्बर ७, ८ र ९ को केहि भागमा आइतबार बत्ती बलेको हो । मल्लोथलामा २० दिन पहिले बिजुली बलेको थियो । साविकको पाँच नम्बर वडाको केहि भागमा मिटर नपुगेको कारण बिजुली बल्न बाकी छ । साविक शिखर गाबिस एबं अहिलेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ को टुडा लगायत केहि भागमा मात्रै विद्युतिकरण गर्न बाँकी रहेको छ । अहिले तार, पोल सकिएकोले बाँकी क्षेत्रमा दोस्रो चरणमा विद्युतीकरण गरिने निर्माण व्यवसायी भानुभक्त जोशीले बताउनुभयो ।
विभिन्न टोलका साथै मालिकार्जुन मन्दिर डुडेखानीमा समेत आइतबार बिजुली बलेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडा सदस्य रमेश बोहराले बताउनुभयो । गाउँमा ढिलै भएपनि विद्युत बलेपछि स्थानीय हर्षित भएका छन् ।
स्थानीयहरुको योगदानपछि चमेलिया जलविद्युत गृहभन्दा आठ दश किलोमिटर मात्रै दुरी रहेको शिखर क्षेत्रमा बल्ल बिजुली बलेको हो । चमेलियाको बिद्युतबाट देशका विभिन्न जिल्लाले सेवा पाएपनि छेउछाउका प्रभावित बस्तीहरु अध्यारोमा थिए । ढिलै भएपनि बिजुली बाल्न पाउदा खुसी लागेको स्थानीय पदम खडायतको भनाई छ ।
बाँकी क्षेत्रमा समेत छिट्टै विद्युत विस्तार गर्न निर्माण व्यवसायीलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया