दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन गरेर पास गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीबारे मौन बसेकोमा समेत प्रश्न उठाउनुभयो । ‘तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ, पास गर्नु नि !’ सोमबार केन्द्रीय कमिटीको बैठकमा ओलीले भन्नुभएको छ । ‘हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
एमसीसी सम्झौता संसदमा विचाराधीन छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एमसीसी सम्झौता यथास्थितिमै अनुमोदन गर्ने कि परिमार्जनसहित भन्ने विवाद भएको थियो । २०७४ फागुनदेखि ४१ महिना प्रधानमन्त्री भएका ओलीले एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरुले विरोध गरेपछि नेकपाले पूर्वप्रधामन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनाएको थियो । त्यो कार्यदलले एमसीसी सम्झौता परिर्माजन गरेर मात्र अनुमोदन गर्न सकिने राय दिएको थियो । सोमबार केन्द्रीय कमिटीको बैठकमा ओली स्वयंले परिमार्जन गरेर मात्र अनुमोदन हुनुपर्ने बताएको एक केन्द्रीय सदस्यले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया