दार्चुला । वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) रिपोर्टमा भएको ढिलाईका कारण महाकाली करिडोर निर्माणको काम अलपत्र परेको छ। २०६५ सालदेखि निर्माण थालिएको कञ्चनपुर, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिंकर भन्ञ्याङ भएर चिनको ताक्लाकोट जोड्ने ४२५ किलोमिटर लामो महाकाली करिडोर निर्माणमा ढिलासुस्ती भएको हो।
महाकाली करिडोर अन्तर्गत दार्चुला–तिंकर सडकको ५७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ। त्यो खण्डको इआईए रिपोर्ट बनेर निर्माणको काम अपेक्षाकृत रुपमा भइरहेको दार्चुला–तिंकर सडक योजना कार्यालयका योजना प्रमुख अच्युतविलास पन्तले बताउनुभयो ।
महाकाली करिडोर अन्तर्गत सडकलाई दुई भागमा विभाजन गरेर निर्माण प्रक्रियालाई अघि बढाइएको छ। जसअन्तरगत कञ्चनपुर, बैतडी र दार्चुला खण्डको अधिकांश स्थानमा जंगल छ। सोही खण्डको ईआइए रिपोर्टमा भइरहेको ढिलाईका कारण ९२ किलोमिटरभित्र अझै ट्याक खुलेको छैन।
ईआईएका लागि कञ्चनपुरले अझै सहमति दिएको छैन। सडक निर्माण हुने क्षेत्रमा जंगल क्षेत्र परेकाले वातावरणीय प्रभाव मुल्यांकनको रिपोर्ट अझै प्राप्त भइनसक्दा काम गर्न समस्या भइरहेको योजना कार्यालयले जनाएको छ।
दार्चुलादेखि तिंकरसम्म एक सय २४ किलोमिटर सडकमध्ये ८७ किलोमिटर नेपाली सेनालाई जिम्मा दिइएको हो। सुनसेरासम्म ४४ किलोमिटरमा ट्याक खुलिसकेको छ। तल्लो महाकालीको भागमा १७ किलोमिटर ट्याक खोल्न गत वर्ष सम्झौता गरिएकाले चालु आर्थिक वर्षभित्रै ट्याक खुलिसक्ने योजना प्रमुख पन्तले बताउनुभयो। बाँकी ५७ किलोमिटर सडकको ट्याक खोल्न आवश्यक प्रक्रिया अघि बढिसकेको उहाँको भनाई छ।
तीन वर्षभित्र सडकको सबै ट्याक खोलिसक्ने र स्तरोन्नतीको काम मात्र बाँकी रहने योजना कार्यालयले जनाएको छ।
दार्चुला–तिंकर सडकको ईआईए सम्पन्न भएर सडकको ठेक्का सम्झौता भइसकेको छ। दुई वर्षभित्र सडकमा पर्ने सम्पूर्ण रुखहरु कटान गरेर सडक निर्माणलाई पूर्णता दिने मन्त्रिपरिषद् निर्णय नै भएकाले सोहिअनुसार सो क्षेत्रमा काम भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया