दार्चुला । भारतीय सुरक्षा बल (एसएसबी) ले तुईन हटाइदिएपछि दार्चुलाको व्यास क्षेत्रमा खाद्यान्नको समस्या भएको छ । साउन १५ गते जयसिंह धामी तुईन तर्दै गर्दा एसएसबीले फुकालेको तुइन अहिलेसम्म जोडिएको छैन् । वेपत्ता धामीको शव अहिलेसम्म फेला परेको छैन् । तुईन सञ्चालन नभएपछि व्याँस गाउँपालिका वडा नम्बर २ मालगाउँमा खाद्यसंकट निम्तिने अवस्था सिर्जना भएको छ । मालघाटमा पुनः तुइन जोड्न भारतीय पक्षले दिएको छैन् । गाउँ नजिक नेपालतर्फ न बजार छ, न सडक नै पुगेको छ, भारतबाट किनेर ल्याउन एसएसबीले महाकाली नदीमा लगाइएको तुईन नै हटाइदिएको छ ।
तुइन काटिएपछि मालगाउँमा चामल, नुन-तेललगायत खाद्यान्न अभाव सिर्जना भएको स्थानीय नरेन्द्र धामीले बताउनुभयो । व्यास गाउँपालिका पुग्न नेपालतर्फ सुरक्षित बाटो छैन् । दार्चुला तिकंर सडक १३ वर्षमा ४४ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । तुईन विस्थापन कार्यक्रम अन्तरगत निर्माणाधिन पुलहरु समयमै निर्माण सम्पन्न नहुदा व्यास क्षेत्रका स्थानीयहरु भारतीय बजारबाट तुइनकै साहारामा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्दै आएका थिए । तुइन तरेर दार्चुला सदरमुकाम खलंगा पुग्न चार/पाँच घण्टा मात्रै समय लाग्ने तर नेपालतर्फको जोखिमपूर्ण बाटोबाट खलंगा पुग्न दुई दिन लाग्ने भएकोले व्यासबासी ज्यान जोखिममा राखेर तुईन तर्न बाध्य रहेका छन् ।
मालगाउँमा बजार नहुँदा स्थानीय नागरिकलाई दैनिक उपभोग्य बस्तुको जोहो गर्न भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ । एसएसबीले तुईन फुकालेका कारण तुईनबाट खसेर जयसिंह धामी बेपत्ता भएपछि महाकालीमा तुईन प्रयोग गर्न दिइएको छैन् । तुईन हटाएपछि गाउँमा के खाने भन्ने चिन्ता थपिएको छ, सरकारले कुनै विकल्प नदिए केहि दिनमै खाद्यसंकट उत्पन्न हुने अवस्था रहेको स्थानीयहरुले बताएका छन् ।
विगतमा पनि मालका स्थानीयले भारतीय बजारबाट किनेर ल्याएको सामान एसएसबीले जफत गर्ने, महाकालीमा बगाउने, दुव्र्यवहार गर्ने गरेको स्थानीयहरुको गुनासो छ । तर नेपाल सरकारले गाउँसम्म पुर्वाधारको निर्माण नगरिदिदा भारतीय ज्याजती सहेर नै दैनिकी चलाउनुपर्ने व्यासबासीको विवसता छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया