दार्चुला । प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा एसएसबीकाले तुइन फुकालेपछि खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो समय बित्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै आपत्ति जनाउनुभयो ।
विहिबार प्रतिनिधिसभा सदस्य एबं नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले तुइन घटनाका दोषि एसएसबीलाई कारवाही गर्न, पीडित परिवारलाई राहात दिन र छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारसंग माग गर्नुभयो । शुक्रबार सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएको घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र परिवारलाई रोजगारी दिन तथा त्यहाँका सबै क्षेत्रमा तत्काल पुल निर्माण गरी असुरक्षित यात्राको अन्त्य गर्न माग गर्नुभयो । सासंदद्धयले दार्चुला–तिंकर सडक यथाशीघ्र निर्माण गर्न पनि माग गर्नुभएको छ ।
आजकै बैठकमा एमालेका नेता एबं सासंद दामोदर भण्डारीले दार्चुलामा तुइन चुँडाएर बेपत्ता भएका जयसिंह धामीको सन्दर्भमा भारतसँग कुनै पनि कूटनीतिक पहल नगरेकामा दुःख व्यक्त गर्नुभयो । सोही पार्टीका नवीना लामाले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारले सम्पन्न नागरिकका पक्षमा मात्रै काम गरेको आरोप लगाउनुभयो । सांसद नवराज रावतले कोरोना नियन्त्रणमा लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारदमुनी रानाले दार्चुलाका जयसिंह धामी आँखा अगाडि बेपत्ता हुँदा र मेलम्ची बाढीले पुरिँदा पनि सरकार बेखबर र मौन रहेको आरोप लगाउनुभयो । अर्का सांसद निरादेवी जैरुले दार्चुला घटनाको बारेमा सत्यतथ्य बाहिर नआएकामा आपत्ति जनाउनुभयो ।
कांग्रेसका अर्का सांसद डा. डिला सङ्ग्रौलाले गोरखा सैनिक न्याय माग्दै बेलायतमा आमरण अनशनमा बसेको जानकारी गराउँदै उनीहरुको जीवनरक्षाका लागि कूटनीतिकरूपमा पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सोही पार्टीका सांसद दिव्यमणि राजभण्डारीले अनियमिता र भ्रष्टाचार नियन्त्रणमा लागि विशेष समिति बनाई छानबिन गरेर कारबाही गर्न माग गर्नुभयो ।
कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ऐतिहासिक धरहरा उद्घाटन भयो, तर चढ्न पाइन्न, मेलम्ची खानेपानी उद्घाटन भयो तर खान पाइन्न, अपर तामाकोशी उद्घाटन भयो तर बत्ती बाल्न पाइन्न, सुस्ता सुस्ता चर्चा चल्छ तर झोलुङ्गे पुलबाट हिँड्न पाइन्न, त्रिवेणीधाम बाल्मीकि आश्रम जाने झोलुङ्गे पुल शिलान्यास भयो तर छ वर्ष हुँदा पनि पुल हेर्न पाइएन भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कोभिड–१९ ले नेपाल–भारत सीमा बन्द छ, तर मान्छे आवतजावत भइरहेको भन्दै आपत्ति जनाउनुभयो । अर्का सांसद पुष्पा भुषाल गौतम अर्घाखाँचीको कारागारमा अधिकांश कैदीबन्दीमा कोरोना देखिएकाले सरलरूपमा उपचार व्यवस्था मिलाउन र खुला कारागारको अवधारणा लागू गर्न माग गर्नुभयो ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णकुमारी सुवेदीले बाढीपहिरोबाट नागरिकको जीउधन रक्षा गर्न माग गर्नुभयो । अर्का सांसद टेकबहादुर बस्नेतले बजेटको उचित प्रयोग र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सांसद दुर्गाबहादुर राउतले कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकासहित विभिन्न क्षेत्रमा विपद्बाट घरबारविहीन भएकालाई तत्काल राहत उपलब्ध गराउन अनुरोध गर्नुभयो । जनअनुमोदित सरकारले जनतको काममा ढिलाइ गर्न छुट नभएको पनि उहाँले बताउनुभयो ।
सोही पार्टीका अर्का सांसद देवेन्द्र पौडेल मध्यपहाडी लोकमार्गको बागलुङदेखि घोडाबानेसम्मको बाटो चार वर्षसम्म पनि नबनेर हिलाम्मे भएको जानकारी गराउँदै धेरैपटक संसद्मा बोलेको र मन्त्रालय धाउँदा पनि सम्बन्धित पक्षको ध्यानाकर्षण हुन नसक्नु विडम्बना भएको बताउनुभयो । उहाँले गत वर्ष ढोरपाटनमा आएको बाढीबाट क्षति पुगेका पूर्वाधार निर्माण गर्न पनि सरकारसँग माग गर्नुभयो ।
अर्का सांसद धर्मशिला चापागाईँले निवर्तमान केपी शर्मा ओलीले केही अघि सदनमा बोल्ने क्रममा जनयुद्धका घाइतेले उपचार नपाए पार्टी कार्यालयमा पठाइदिनु भनेको कुरा कोट्याउँदै सँगै जेल बसेका साना दुर्गा अधिकारी, मानकुमार तामाङहरू कहाँ छन् भनी प्रश्न गर्नुभयो । उहाँले संविधानसभाका सदस्य धर्मप्रसाद घिमिरे गम्भीर बिरामी हुँदा सरकारबाट राहत पाउन नसकेको कुरा पनि स्मरण गराउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद दलबहादुर रानाले भूमि आयोग खारेज गरेकामा आपत्ति जनाउँदै जनतालाई जग्गा नदिने सरकारको नियत देखिएको आरोप लगाउनुभयो । सोही पार्टीका डा. दीपकप्रकाश भट्टले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने आठ लेनको पुल निर्माणको क्रममा गत महिना वर्षाका कारण बगाएकाले छिटोभन्दा छिटो पुल निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले सुदूरपश्चिम क्षेत्रमा कुनै पनि मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत नभएकाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन माग गर्नुभयो ।
नेकपा (एमाले) का निरुदेवी पालले पार्टी व्यक्तिभन्दा माथि देश भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरी नेपाली नक्सा सार्वजनिक गरेको जानकारी गराउँदै अब उक्त भूभाग लिन राष्ट्रिय सहमति जुटाउनुपर्ने आवश्यकता होइन र ? भन्दै सरकारसँग प्रश्न गर्नुभयो । सोही पार्टीका सांसद नारायणप्रसाद खतिवडाले कोरोना नियन्त्रणका लागि स्वास्थ्य संस्थालाई सुविधासम्पन्न गराउन माग गर्नुभयो । उहाँले बालबालिकाको उपचारको व्यवस्था गर्न र पिसिआर परीक्षण प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताताको छानबिनको माग गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद दिलकुमारीले कोभिडका कारण सीमा क्षेत्र बन्द भए पनि तस्करीका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले सर्वसाधारण जनताले सास्ती खेपिरहेकाले प्रदेश नं २ का सबै सीमा खुला गर्न आग्रह गर्नुभयो ।
बैठकमा कांग्रेसका सांसदहरु पद्मनारायण चौधरी, पार्वता डिसी चौधरी, प्रकाश रसाइली स्नेही र पर्मिला राई, नेकपा (एमाले) का पार्वतीकुमारी विशुन्के र पवित्रा निरौला खरेल, जसपाका प्रदीप यादव र प्रमोद साह तथा अर्का सांसद नारायणप्रसाद मरासैनीले शून्य समयमा धारणा राख्नुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया