दार्चुला। अपि पावर कम्पनीले ८ मेगावाटको परवानीपुर सौर्य विद्युत आयोजनामा लगानी जुटाएको छ । कम्पनीले निर्माण गर्न लागेको सौर्य विद्युत आयोजनामा बैंक अफ काठमाडौंले एकल ऋण लगानी गर्न लागेको हो । कम्पनी र बैंकबीच शुक्रबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनीकोतर्फबाट प्रबन्ध निर्देशक सन्जीव न्यौपाने र बैंककोतर्फबाट अनिल श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार कूल ६४ करोड रुपैयाँ लागतको सौर्य विद्युत आयोजनामा बैंकले ४९ करोड ५० लाख रुपैयाँ ऋण लगानी गर्नेछ । निर्माण सुरु गरेको ६ महिनामा सम्पन्न गरी सौर्य विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत परवानीपुर सबस्टेसनमा जोड्ने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि पनि रौतहटमा ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अहिले निर्माणाधीन १/१ मेगावाटका सिमरा र ढल्केबर सौर्य विद्युत आयोजना अन्तिम चरणमा पुगेका छन् । यी सबै सौर्य विद्युत आयोजनामा बैंक अफ काठमाडौंले लगानी गरेको छ ।
साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड गरी २ जलविद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको कम्पनीले सौर्य विद्युत आयोजनामा पनि लगानी बढाउँदै लगेको छ । सूदुरपश्चिम प्रदेशमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन छ । यो आयोजनाको करिब ४० प्रतिशत निर्माण सकिएको छ । –उर्जाखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया