दार्चुला । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एसएसबीले तुइन फुकालेका कारण तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ । भारतीय स्वतन्त्रता दिवसका दिन मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै सो माग गरेको हो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी फुकालेपछि धामी नदीमा खस्नुभएको थियो । तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन । नपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ । सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन भएको मोर्चाले जनाएको छ ।
जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ । धामीको खोजी गर्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीयमात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो । यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्व्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ ।’
मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उहाँको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको छ । मोर्चाले अतिक्रमित नेपाली भूमि इमानदारीतापूर्वक फिर्ता गर्न समेत भारतसंग माग गरेको छ ।
सम्बन्धित समाचार : भारतसंग नेपाली भू-भाग फिर्ता गर्न र जयसिहको परिवारलाई एक करोड भारु राहात दिन माग

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया