दार्चुला । निर्वाचनका कारण गत जेठ ९ गते देखी बन्द भएको मतादाता नामावली दर्ता र अध्यावधिक कार्य पुनः सुचारु गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन २०७८ साल मंसिर ३ गते शुक्रवार निर्वाचनको मिति तोकेपछि बन्द भएको मतदाता नामावली दर्ता र अध्यावधिक कार्य निर्वाचन स्थगित भएपछि पुनः सुचारु भएको हो ।
दार्चुलामा पनि बन्द भएको नामावली दर्ता र अध्यावधिक कार्य जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट साउन ३ गतेबाट सुचारु गरिएको छ, भने जिल्ला प्रशासन कार्यालयबाट भदौ १ गतेबाट सुचारु हुने जिल्ला निर्वाचन अधिकारी प्रदिप सिंह धामीले जानकारी दिनुभयो । दार्चुलामा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी दुई वटा दर्ता स्थलबाट मतादाता नामावली दर्ता हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट नामावली दर्ता मात्रै गरिने तथा जिल्ला निर्वाचन कार्यालयबाट दर्ता र अध्यावधिक दुवै कार्य गरिने धामीले बताउनुभयो ।
दार्चुलामा चार हजार ६८१ नयाँ मतदाता थपिएका छन् । २०७४ सालमा ७८ हजार ५१३ मतदाता रहेकोमा चार हजार ६८१ नयाँ मतदाता थपिएर ८३ हजार १९४ पुगेको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन महिनामा मात्रै निर्वाचन कार्यालयमा ४ सय २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । खासगरी नयाँ नागरिकता प्राप्त गर्ने नागरिकले मतदाता नामावली दर्ता गर्ने गरेका छन् । विगतमा मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएकाहरुलाई समेत दर्ता गराउन निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया