दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको अस्थाई कार्यालय खरकडामा १९ दिन पहिले लागेको ताला मंगलरबार खोलिएको छ । गाउँपालिका र संघर्षरत पक्षबिच सहमति जुट्न नसकेपछि वडा नम्बर ४ का कार्यबाहक अध्यक्ष कृष्णनन्द पन्तको नेतृत्वमा तालाबन्दी खुलेको स्थानीयले बताएका छन् ।
गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत खरकडाबाट रातामाटा कार्यालय नसारेको भन्दै तत्काल कार्यालय रातामाटाबाट सञ्चालन गर्न माग गर्दै विभिन्न वडाबाट गएका स्थानीयहरुले साउन १५ गते तालाबन्दी गरेका थिए । ताला खुलाउने विषयमा १९ दिनपछि मंगलबार (आज) दुबै पक्षबिच छलफल भएपनि सहमति हुन सकेन । गाउँपालिकाबाट ताला खोल्न अनुरोध गरिएपनि ताला लगाउने पक्षले नमानेको बताइएको छ । गाउँपालिकाको केन्द्र रातामाटा सार्ने बिषयमा गाउँकार्यपालिकाबाट निर्णय गर्ने बताएपनि निर्णय भइसकेपछि वा निर्णय गर्ने सुनिश्चिचता भइसकेपछि मात्रै ताला खोल्ने आफुहरुको अडान रहेको कैनोडाका स्थानीय शिवराज जोशीले बताउनुभयो । तालाबन्दी गर्ने पक्षले पहिले निर्णय गर्न अनुरोध गरेको छ, भने गाउँपालिकाबाट पहिले ताला खोल्न अनुरोध गरिएको थियो । गाउँपालिकामा १९ दिनदेखि तालाबन्दी हुदा नियमित सेवा प्रवाहमा समस्या भइरहेको भन्दै सहमति बिनै ताला खोलिएको हो । ताला खोलिएपछि संघर्षरत पक्षले कडा प्रतिवाद गर्ने र संघर्ष जारी रहने जनाएको छ ।
गाउँपालिकामा खरकडाका स्थानीयहरुले ताला खुलाउन दबाद दिइरहेका थिए । भने ताला लगाउने पक्ष अर्थात संघर्षरत पक्षले निर्णय नगर्दा सम्म ताला नखोल्ने अडान राखेपछि ताला खोल्ने विषयमा सहमति हुन सकेको थिएन । तत्काल गाउँकार्यपालिका बैठक बसाल्न कार्यपालिका सदस्यहरु गाउँपालिका बाहिर रहेको बताइएको छ । कार्यालय रातामाटाबाट सञ्चालन गर्न गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधि सहमत भएपनि कार्यपालिकाबाट निर्णय गरेपछि औपचारीक रुपमा प्रशासकिय कामकाज रातामाटाबाट सञ्चालन गर्ने तयारी रहेको गाउँपालिका स्रोतले जनाएको छ । यद्धपी गाउँकार्यपालिकाका सबै सदस्यहरु तत्काल रातामाटा कार्यालय सार्ने पक्षमा नरहेको बताइन्छ ।
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि लेकम गाउँपालिकाकै गाउँकार्यपालिका र गाउँसभाबाट केन्द्र रातामाटा राख्ने निर्णय गरिएको थियो । गाउँपालिकाकै सिफारिस र नेपाल सरकारको निर्णय अनुसार नेपाल सरकार राजपत्रमा समेत लेकम गाउँपालिकाको केन्द्र रातामाटा भनेर तीन वर्ष पहिले नै प्रकाशित भइसकेको छ । गाउँपालिका कार्यालय निर्माणका लागि रातामाटामा विगतमै स्थानीय पाठक परिवारले जग्गादान गरेका छन् । भवन निर्माणका लागि विस्तृत अद्ययन प्रतिवेदन (डिपिआर) तयार भएको, माटो परीक्षण गरिएको, प्रशासकिय भवन निर्माणका लागि टेण्डर र सम्झौता समेत भइसकेकोले रातामाटाबाट छिटो कार्यालय सञ्चालन गर्न स्थानीयले माग गरिरहेका छन् । गाउँपालिकाको कार्यालय रातामाटा नसार्दासम्म आन्दोलन जारी रहने सर्मोलीका स्थानीय एबं संघर्ष समिति संयोजक दिपक बिष्टले बताउनुभयो । गाउँपालिकाभरीका जनतासंग थप समन्वय गरेर आन्दोलन गर्ने उहाँको भनाई छ ।
अहिलेसम्म लेकम गाउँपालिकाका कागजपत्रहरुमा गाउँपालिकाको कार्यालय रातामाटा भनेर उल्लेख भएपनि कार्यालय सञ्चालन खरकडाबाट नै भइरहेको छ । पछिल्लो समय जनप्रतिनिधिहरुमा नै गाउँपालिकाको केन्द्रका विषयमा मतभेद देखिएकोले रातामाटा कार्यालय सार्न ढिलाइ भइरहेको स्रोतले जनाएको छ । पटकपटक गाउँपालिकामा तालाबन्दी हुँदा सेवाग्राहीहरु समस्या भोगिरहेका छन् । दैनिक गर्नुपर्ने कामकाज र सेवा प्रवाह प्रभावित हुँदा त्यसको असर लेकमवासी जनतामा परिरहेको छ ।
विगतदेखि नै गाउँपालिका र जनप्रतिनिधिहरुकै पहल, सहमती तथा निर्णय अनुसार रातामाटामा केन्द्र स्थापनादेखि भवन निर्माणका लागि सम्झौतासम्मका कामकाम भइरहेकोले कार्यपालिका बैठकले निर्णय गरेपछि कामकाज सञ्चालन रातामाटाबाट हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया