दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा पूर्व मन्त्री पनि माधव नेपालले खोलेको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा समेटिएका छन्। पार्टीको केन्द्रीय कमिटीमा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र बैतडी घर भएकी पूर्व वनमन्त्री माया भट्ट रहेका छन्। यसअघि पनि उनीहरु साविक एमालेको माधव पक्षमै खुलेका थिए। बैतडी घर भएकी पुर्वमन्त्री भट्ट समानुपातिक प्रदेश सांसद हुन्।
बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्। यस्तै एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह (गरिमा), माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्।
सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एमालेका अधिकांश सांसद तत्काल नेपाल समूहले खोलेको नयाँ पार्टीमा नजाने भएका छन्। विगतमा माधव समूहमै रहेका सुदूरपश्चिमका सांसदले आज दर्ता भएको नेकपा एमाले समाजवादी पार्टीमा तत्काल नजाने संकेत गरेका हुन्। विगतमा माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट, देउवालाई विश्वासको मत दिएका लक्ष्मीकुमारी चौधरी, विना बुढाथोकी लगायतले तत्काल नयाँ पार्टीमा नजाने संकेत गरेका छन्।
प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन्। जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए। डोटीका आले र डडेल्धुराकी जैरुबाहेक अछामका भीम रावल, कैलालीकी लक्षमीकुमारी चौधरी, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट नेपाल पक्षमा थिए। तर आले र जैरुबाहेक विगतमा माधव समूहमा रहेका अन्य सासंद अहिले नयाँ पार्टीमा नगएका हुन्।
कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेशसिह ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन्। यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया