माधवकुमार नेपालमाथि केपी ओलीका आरोपै आरोप

दार्चुला । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि आरोपै आरोप लगाउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपालले लामो समय पार्टीको नेतृत्व गरेको तर त्यस क्रममा पार्टी खुम्चिएर कचौरा जत्रो हुन पुगेको बताउनुभयो ।

माधवकुमार नेपालको कार्यकालमा एमाले सडक र संसद दुवै मोर्चामा खुम्चिएको ओलीको भनाइ छ । माधवकुमार नेपाल पार्टीको नेतृत्वमा रहँदा होस् वा सरकारको नेतृत्वमा रहँदा होस्, पार्टीलाई सिध्याउने भूमिकामै केन्द्रित रहेको उहाँले बताउनुभयो । माधवकुमार नेपालको एकमात्र उद्देश्य एमाले फुटाउनु नै रहेको ओलीले बताउनुभयो । आफूले एकताका लागि बारम्बार प्रयास गर्दा पनि माधव नेपालले पार्टी फुटाउने उद्देश्य राखेकै कारण एकताको प्रयास सार्थक हुन नसकेको उहाँले प्रस्ट पार्नुभयो ।

माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदा हुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप छ । कर्णाली प्रदेशमा आफ्नो पार्टीको प्रस्ट बहुमत हुँदाहुँदै पनि माधवकुमार नेपालले नै एमालेका चार सांसदलाई फ्लोर क्रस गराएर एमालेको सरकार बन्न नदिएको आरोप उहाँले लगाउनुभयो । एमालेले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार उठाउँदा माधवकुमार नेपालले विपक्षीसँग साँठगाँठ गरेर अर्को उम्मेदवारलाई जिताउने भूमिका निर्वाह गरेको भन्दै ओलीले एमालेकै नेतृत्वमा रहेको संघीय सरकारलाई पनि अनेक ढंगले विस्थापित गर्न भूमिका निर्वाह गरेको आरोप माधवकुमार नेपालमाथि लगाउनुभयो ।

‘नेकपा एमालेको सरकार प्रतिगामी हो, एमालेको सरकार ढालेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाइ पाउँ भनेर राष्ट्रपतिकोमा हस्ताक्षर गरेर जाने,’ माधवकुमार नेपालमाथि आरोप थप्दै ओलीले भन्नुभयो, ‘सर्वोच्च अदालतमा पनि ओलीको सरकार अपदस्थ गरिपाउँ, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरिपाउँ भनेर जाने ।’ यसका बाबजुद आफू पार्टी एकता कायम राख्नका लागि वार्ता समिति बनाउँदै गरेको, कार्यदल बनाउँदै गरेको, के के चाहियो भनेर उनीहरुसँगै सोध्दै गरेको भन्दै ओलीले आफ्ना हरेक प्रयास बाबजुद पार्टी एक ढिक्का राख्न नसकेको बताउनुभयो ।

सरकारले एमाले फुटाउन कै लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र यस क्रममा माधवकुमार नेपालसँग कति प्रतिशत सांसद र केन्द्रीय सदस्य छन् भन्ने हिसाब गरेर अध्यादेशमा पनि दल विभाजनका लागि सोही अनुसारको प्रतिशत उल्लेख गरिएको ओलीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?