दार्चुला । दार्चुला जिल्लामा विद्युत अवरुद्ध भएको छ । बलाँच र थालिगाड दुबै शवस्टेशनको लाइन अवरुद्ध हुँदा जिल्ला भरी नै बिजुली गएको छ । विद्युतको प्रसारण लाइनमा फल्ट देखिएर विद्युत अवरुद्ध भएको र मर्मतका लागि प्राविधिकहरु लाइनमा खटिइसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ । बेलाबेला विद्युत अवरुद्ध हुँदा दार्चुलावासीले सास्ती भोगिरहेका छन् ।
चमेलिया लगायत साना ठूला लघुजलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म ६० प्रतिषत घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन् । विद्युत वितरण केन्द्र दार्चुलाका अनुसार ३८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। केहि घरधुरीमा लघु जलविद्युत र सोलारहरु भएपनि अधिकासं घरधुरी अन्धकारमा छन् ।
२०६८ सालको जनगणनाअनुसार दार्चुलाका २४ हजार ६१८ घरधुरीमध्ये ९ हजार ३२० घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ । जिल्लाका दुई नगरपालिका तथा पाँच वटा गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरण गरिएको र चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा विद्युतीकरण गरिसक्ने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ।
दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्न बाँकी छ भने लाइन जोडिएका सबै ठाउँमा विद्युत राम्रोसँग पुग्न नसकेको बताइएको छ। सन् २०२२ सम्ममा नेपालको सम्पूर्ण भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले १ वर्षभित्र दार्चुलामा पनि विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ।
विद्युत कार्यालय र ठेकेदार जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरुको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण विद्युत विस्तारमा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन भने भएको ठाउँमा समेत नियमित विद्युत आपुर्ती भइरहेको छैन् । बेलाबेला विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । तर स्थानीयहरुले समेत सरोकारवालाहरुमाथि प्रयाप्त दबाब सिर्जना गर्न नसक्दा आधाभन्दा बढी जनसंख्या अन्धकारमा बस्नुपरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया