दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी गृह जिल्ला दार्चुला आइपुगेका छन् । विहिबार दार्चुला आइपुग्नुभएका मन्त्री धामी जडिबुडीको सम्भाव्यता अद्ययन र सुर्मासरोवर जात्राको अवलोकनका लागि अपिहिमाल गाउँपालिका पुग्नुभएको छ ।
शुक्रबार अपिहिमाल गाउँपालिकामा मन्त्री धामीलाई बाजागाजा सहित स्वागत गरिएको थियो । अपिहिमालको विकास, धार्मीक, पर्यटकीय क्षेत्रको सम्भाव्यता र उद्योग अन्तरगत जडिबुडीको सम्भाव्यताबारे छलफल गरिएको मन्त्री धामीका स्वकीय सचिव रामदत्त जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सरकारको कार्यक्रम अन्तरगत अपि हिमाल क्षेत्रको उच्च हिमाली भागमा पाईने जडिबुडीको सम्भाव्यताका बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो । अध्ययन टोलीमा पोखरा विश्वविद्यालयका पूर्व डिन तथा जडिबुडी विज्ञ डा. खेमराज जोशी सहित प्राविधिकहरु छन् ।
मन्त्री धामीको टोलीले दार्चुलाकै सबैभन्दा ठूलो जात्रा सुर्मासरोवर क्षत्ती जात्राको अवलोकन गर्ने कार्यक्रम समेत रहेको उहाँको सचिवालयले जनाएको छ । औँसीदेखि १७ दिन र रतेडिदेखि सात दिन सम्म मनाइने सुर्मासरोवर जात्रामा रतेडीपछि चहलपहल बढेको छ । विहिबार क्षेत्याल र घाँजिर्यालबिच भेट भएको छ । शुक्रबार विरेहरु सुर्मासरोवर दर्शनका लागि प्रस्थान गरेका छन् । ५ गते बीरे ओडार बस्ने र ६ गते फर्किने तयारी छ । फर्किनेबेला बाटोमा बीरे दौँड हुन्छ र बेलुकी क्षेत्ती पुग्नेछन । ७ गते सबै बीरेहरु घाँजिर जाने र ८ गते छैठी दिएर जात्रा समापन हुने छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सावधानीसाथ जात्रा मनाउन अपिहिमाल गाउँपालिकाले अनुरोध गरेको छ । सुर्मासरोवर जात्रा अपिहिमाल गाउँपालिका–३ घाजिर, क्षत्ति हुँदै बझाङ जिल्लाको सीमा क्षेत्र सुर्मासरोवरसम्म गएर मनाइने गरिएको छ । हिमश्रृंखलाहरूको विचमा अवस्थित यो सरोवर धार्मिक, पर्यटकीय तथा सांस्कृतिक दृष्टिमा अत्यन्त महत्वपूर्ण छ । सुर्मासरोवर जात्राको सुरुवात कहिलेदेखि सुरु भयो भन्ने एकिन प्रमाण नभएपनि सुर्माभवानीको चैतमा उल्लेख भए अनुसार एघारौ सताब्दी अघिबाट यो जात्रा मनाउन थालिएको स्थानीय संस्कृतिका जानकार मोहनसिह मन्यालले जानकारी दिनुभयो ।
जात्रामा अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले यस सुर्मासरोवरमा पहिले पूजा आजा गरेर फर्किएपछि बझाङ तिरबाट आउने सिकारीको भेषधारी तीर्थालुहरूले पूजा गर्नेु पने किम्बदन्ती छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया