दार्चुला । गृह मन्त्रालय र स्थानीय प्रशासनले चाडपर्व मनाउँदा भिडभाड नगरि स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन आग्रह गर्दै दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा पनि भिडभाड नगर्न आग्रह गर्नुभएको छ ।
अब विभिन्न चाडपर्व तथा जात्रा नियमित आउने र यस्ता चाडपर्वमा हुने भेटघाट र भिडभाडले कोरोना भाइरस फैलाउन सक्ने भएकले सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता पोखरेलले बताउनुभयो । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिने गरी काम गराउन भनेको छ । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले स्थानीय प्रशासनले अवस्थाअनुसार भिडभाड रोक्ने भूमिका खेल्न सक्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले अहिले पनि कोरोना सङ्क्रमण बढिरहेकाले गौरापर्व र अरु विभिन्न चाडपर्वहरुमा भिडभाड नगरि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मनाउन अनुरोध गरेको छ । निषेधाज्ञाका बेलामा पनि ठाउँ–ठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । आज जनैपूर्णिमाका दिन विभिन्न मन्दिरमा मानिसको भिड लागेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया