दार्चुला । किसानले प्राविधिक सहयोग पाउन थालेपछि जिल्लामा मह उत्पादनमा वृद्धि हुँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा ५२ मेट्रिक टन मह उत्पादन भएको हो । अघिल्लो आवको तुलनामा १२ प्रतिशतले बढी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
सरकारी तथा गैरसरकारी निकायबाट अनुदान तथा प्राविधिक सहयोग पाएपछि यहाँका केही किसानले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाशकुमार पन्तले बताउनुभयो । उहाँका अनुसार किसानले गत वर्ष २५ सय आधुनिक घार तथा ४ हजार मुणेघारबाट ५२ मेट्रिक टन मह उत्पादन गरेका छन । जिल्लाका सबै स्थानीय तहमा मह उत्पादन हुने भए पनि लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउदै छ । परम्परागत रूपमा मौरी पालन गर्दै आएका किसानहरू विस्तारै व्यावसायिक मौरीपालनतर्फ आकर्षित हुँदा उत्पादनमा वृद्धि भएको पन्तले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा मौरीपालन तर्फ किसानको चासो बढेको र मौरीपालन व्यवसाय गर्ने किसान बढ्न थालेकाले मह उत्पादनमा वृद्धि भएको हो । यहाँका किसानहरूले बार्षिक पाँच करोड २० लाखको मह बिक्री गरेका छन । गत वर्ष मात्रै विभिन्न स्थानीय तहमा उत्पादन भएको मह विक्रीबाट किसानहरूले आम्दानी बढाएका छन् । ‘पछिल्लो समय सरकारले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गरेकाले कम मिहिनेतमै राम्रो आम्दानी हुँदा व्यावसायिक रूपमा युवाहरू मह उत्पादनमा आकर्षित देखिन्छन्’ जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख पन्तले भन्नुभयो, ‘यहाँका ४० वर्षदेखि माथिका व्यक्तिहरू मौरीपालनमा संलग्न छन् ।’
गत वर्ष लकडाउनले धेरै मानिस घर बस्नुपरेको र मौरीको चरन क्षेत्रमा अन्य वर्षको तुलनामा अनुकुल भएकोले मह उत्पादनमा वृद्धि भएको अनुमान उहाँको छ । उहाँले भन्नुभयो, ‘अझै जिल्लामा मह उत्पादन जति हुनुपर्ने हो, हुन सकेको छैन । अहिले सरकारी अनुदान र प्राविधिक सल्लाह पाईरहेका छन् । यसको फाइदा किसानहरूले उठाए जस्तो लाग्छ ।’ अझै मह उत्पादनमा स्थानीय तहहरूले आधुनिक मौरीघार र प्राविधिक सहयोग पाए किसानलाई उत्पादनमा सहजता आउने उहाँले बताउनुभयो ।
मौरीपालन व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रूपमै यसतर्फ लागेका छन् । जसले पहिलेदेखि मौरी पाल्दै आएका छन, उनीहरूले राम्रै उत्पादन गरेका छन् । सरकारी र गैरसरकारी अनुदान अनुसारको नयाँ किसानहरू कमै मात्रा यो पेशा गरिरहेका छन् । स्थानीयस्तरमा यसको बजार अभाव छ । स्थानीय सरकारले तालिम प्रवर्द्धन र बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्ने सम्भावना धेरै रहेको कृषि ज्ञान केन्द्र प्रमुख पन्तको भनाइ छ । –कान्तिपुरबाट
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया