दार्चुला । जिल्ला अस्पताल दार्चुलामा असारमै जडान गर्ने भनिएको अक्सिजन प्लान्ट अझैपनि जडान भएको छैन । दार्चुला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको थियो । सप्लायर्सले अक्सिजन प्लान्ट जडानमा ढिलाइ गरेपनि आलोचना भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि जेठ अन्तिमतिर इबिडिङको माध्यमबाट १५ दिने बोलपत्र आह्वान गरिएको थियो । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना संक्रमितलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ । बोलपत्र आह्वान गरी असारमै सप्लायर्स छनोट गरेको भए पनि हालसम्म जडानको काम शुरु नभएको अस्पतालका प्रमुख डाक्टर आदर्श लिम्बुले जानकारी दिनुभयो । कम्पनीसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौं, अझै नेपालमा पुगेको छैन, त्यसैले २० दिन जति म्याद थप गरिदिनुहोस भन्ने जवाफ आएको उहाँले बताउनुभयो ।
अक्सिजन प्लान्ट जडानका लागि ७० लाखमा ठेक्का सम्झौता भएको छ । अक्सिजन प्लान्ट जडान नहुदा खाली भएका अक्सिजन सिलिण्डर भर्न नेपालगन्ज पठाउनु पर्ने बाध्यता छ । जिल्ला अस्पताल दार्चुलामा अहिले ७० सिलिन्डर र ४७ कन्सन्ट्रेटर रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया