दार्चुलासहित सुदूरपश्चिममा आज ‘नानी गौरा’ मनाइँदै

दार्चुला । दार्चुलासहित सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन आज नानी गौरा मनाइँदै छ। नानी गौराको दिन व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहेको छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ।

आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ। बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन्। पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ।

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो। भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ। तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ।

यो वर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयवासीले बताएका छन्। कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको हो। स्थानीय प्रशासनले गौरामा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?