दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ३ निजाङवस्तीका हरकसिह कार्की र शेरसिह कार्कीको शव नभेटिएपछि परिवारजनले कुषको मूर्ति बनाएर अन्त्येष्टि गरेका छन् । आइतबार राती महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाको सीमा भएर बग्ने निजाङखोलामा आएको बाढीले बिहान २ः३० बजे घट्ट गएका कार्की दाजुभाई वेपत्ता भएका थिए । आइतबार दुहुँमा भिषण वर्षासंगै आएको बाढीपहिरोले पाँच जनाको मृत्यु, दुई जना घाइते, ३० घरमा क्षती, ४० घर उच्च जोखिममा, आधादर्जन पुल र लघुजलविद्युत बगाउनुका साथै करोडौँको जनधनको क्षती पुर्याएको छ ।
शव भेटिने अवस्था नआएपछि परिवारजनले उनीहरुको कुषको मूर्ति बनाएर अन्त्येष्टि गरेका हुन् । वेपत्ता जयसिहका ५ छोरी, १ छोरा र श्रीमति छ भने शेरसिहको १ छोरा १ छोरी र श्रीमति रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बाढीले सो क्षेत्रमा रहेका आधादर्जन पानी घट्ट बगाएको छ । पारिवारजनका अनुसार दिउँसो घट्ट जादाँ पालो नपाइने भएपछि उनीहरु राती नै घट्ट गएका थिए । निजाङगाड खोलामा आएको बाढिले दुई जनाको ज्यान जानुको साथै एक दर्जन बढि घर पसल तथा दार्चुला तिंकर सडक खण्डमा रहेको निजाङगाड मोटरवेल पुल बगाएको थियो । खोलामा रहेका झोलुंगे पूल, भैसी, बाख्रा खसी लगायतका पशुचौपाया र खेतबारीमा ठूलो नोक्सान पुर्याएको स्थानीय देबबहादुर बमले बताउनुभयो ।
दुहुँमा आएको बाढिपहिरोले अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन् भने दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरी धनगढीमा उपचार भइरहेको छ । बाढीपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकामा दर्जनौँ घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ । दार्चुलाको तिंकर सडक छिन्नभिन्न भएर दुहुँ तथा व्याँस गाउँपालिकामा आवतजावतको मार्ग अवरुद्ध भएको छ । सदरमुकामबाट नजिकै रहेको दुहुँ गाउँपालिकामा धनजनको क्षति हुँदा पनि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । निजाङ खोलामा काठे पुल हालेर आवतजावत भैरहेको छ । लघुजलविद्युत बगेपछि गाउँमा अन्धकार भएको छ ।
गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, उपाध्यक्ष ईस्वरी जोशी, वडा नम्बर ५ का वडा अध्यक्ष दौलत सिंह महर र नेकपा एमाले नेता नरेन्द्र सिह बडालले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीसंग तत्काल विद्युत सूचारु गर्नका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । नेताहरुको आग्रहपछि प्रमुख जिल्ला अधिकारी जोशीले नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख मोहन देव जोशीलाई बोलाएर दुहुँमा सक्दो छिटो विद्युत मर्मत गर्न निर्देशन दिनु भएको छ । जवाफमा विद्युत प्राधिकरण प्रमुख जोशीले तत्काल फिल्ड कर्मचारी पठाई क्षतिको विवरण र मर्मतका लागी आवश्यक सामाग्रीको व्यवस्थापन गरी काम थाल्ने बताउनुभयो ।
लघुजल विद्युतकै लाईनमा राष्ट्रिय प्रशारण लाईन जोड्ने या छुट्टै लाईन विस्तार गरी विद्युत सेवा प्रवाह गर्नै भन्ने बारे अध्ययन पछि मात्रै थाहा हुने प्राधिकरण दार्चुलाले जनाएको छ । बाढीले दुहुँ गाउँपालिका–३ मा रहेको ४३ किलोवाट क्षमताको कालागाड पहिलो लघुजलविद्युत, वडा नम्बर ५ मा रहेको ४० किलोवाट क्षमताको दोस्रो कालागाड लघुजलविद्युत, वडा नम्बर १ मा रहेको १४ किलोवाट क्षमताको भाष्कर लघुजलविद्युत, वडा नम्बर २ मा रहेको ३३ किलोवाट क्षमताको नरुली कलागाड लघुजलविद्युत र वडा नम्बर ५ मा रहेको ९ किलोवाट क्षमताको सिमार लघुजलविद्युतमा पुर्णरुपमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो । विपद्पछि दुहुँ गाउँपालिका समस्यासंगै शोकमा डुबेको छ । एकै पटकको बाढीले दुहुँ गाउँपालिकालाई विकासमा बर्षौ पछि धकेलेको जनप्रतिनिधिहरुले बताएका छन। बाढी पहिरोले ठूलो धनजनको क्षती गरेको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया