दार्चुला । सत्तारुढ गठबन्धनको आज बसेको बैठकले पनि मन्त्रिपरिषद् विस्तारबारे सहमति जुटाउन सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसकेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने बताउनुभयो ।
उहाँले आजको बैठकमा अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको जानकारी दिँदै सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषय मिलाउन बाँकी रहेको बताउनुभयो । देउवा नेतृत्वको सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले शुक्रबारको बैठकमा सबै पार्टीलाई आफ्नो आफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंग्याउन आग्रह गर्नुभएको थियो ।
केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले राजनीतकि दल विभाजन गर्न सक्नेगरि सरकारले ल्याएको अध्यादेश पारित भएमा वा अहिलेकै अवस्थामा रहेमा सत्तारुढ जनता समाजवादी पार्टी फेरि फुट्ने निश्चित देखिएको छ । जसपा विभाजनपछि हाल २० जना सांसद छन् । ती मध्ये ४ जनाले चाहँदा पार्टी फुट्छ । संसदको चालू अधिवेशनमा सरकारले सो अध्यादेश पेश गरिसकेको छ । जसपाले अध्यादेश निष्क्रिय बनाउन प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका नेतालाई आग्रह गरेको थियो । तर संसद अधिवेशन चलिसकेकाले यसलाई प्रक्रियाबाट टुंगो लगाउनुपर्छ वा संसद अन्त्य गरेर निष्क्रिय बनाउनुपर्छ । जसपाले सरकारमा बढीमा ६ जना मन्त्री पाउँछ । तर मन्त्री बन्नकै लागि महन्थ ठाकुरलाई छाडेर उपेन्द्रतिर लागेकासहित मन्त्री बन्न नपाउने कम्तिमा ४ चार सांसदले दल विभाजन गर्ने खतरा देखिएपछि मन्त्रिपरिषद विस्तार समेत रोकिएको छ ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकार गठन भएको दुई महिना पुगेको छ । तर मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र जसपाबीच मन्त्रालयमै पनि विवाद छ । मन्त्री बन्न नपाउनेले माधव नेपालको पार्टी फुटाउन सक्दैनन् । किनकी नयाँ दल ५वर्ष विभाजन हुन सक्दैन । तर जसपालाई २० प्रतिशतको डर भएकाले यो अध्यादेश निष्क्रिय नभई वा प्रतिस्थापन विधेयकमार्फत पुनः ४० प्रतिशतकै प्रावधानमा नफर्की सरकारमा मन्त्री पठाउन नसकिने उपेन्द्र यादवले बताएका छन् ।
अर्कोतिर माधव नेपाल लगायत १४ सांसद पदमुक्त हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि पनि सोमवार अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएकाले कम्तिमा मंगलवारअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । मंगलवार देउवा प्रधानमन्त्री बनेको ठिक २ महिना पुग्छ । यसैबीच मन्त्रिपरिषद विस्तार,अध्यादेशको विवाद र एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेपनि सहमति भैनसकेको स्रोतले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया