दार्चुला । दार्चुला सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको छ । दिवसको अवसर पारेर शनिबारदेखि साँझको समयमा दिपावली गर्ने कार्यक्रम राखिएको र सबैलाई आ–आफ्नो घरमा दिपावली गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार सम्म दिपावली गर्ने, संविधानका बिषयमा अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम जारी रहने बताइएको छ । दार्चुला जिल्लाभरी संबिधान दिवस हर्षोउल्लासका साथ मनाइएको छ । विभिन्न स्थानीय तहले संबिधान दिवसको अवसरमा औपचारीक कार्यक्रमको आयोजना गरेका छन् ।
यस्तै नौगाड गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरि सातौं संविधान दिवस मनाएको छ। गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरी देवी ठगुन्ना, वडा अध्यक्षहरु, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक, समाजसेवी, सुरक्षाकर्मी तथा बुद्धजीवी लगायतको उपस्थिती रहेको थियो । नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र ठगुन्नाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर ४ का वडा अध्यक्ष नन्दन सिह ठगुन्नाले राख्नुभएको थियो । कार्यक्रममा हाजिरिजवाफ प्रतियोगिता, स्थानीय नाच, झाकी प्रदर्शन, नृत्य लगायतका प्रस्तुती रहेको थियो । हाजिरिजवाफ प्रतियोगितामा गणेश विनायक माबि सिप्टी प्रथम, लटिनाथ माबि खार द्धितिय र जनहित माबि धुलिगाडा तृतय भएको नौगाडबाट लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नौगाड गाउँपालिका अध्यक्ष धामीले नेपालको संविधान सबै जनता र राजनीतिक दलहरुको लामो संघर्ष, त्याग, तपस्या र बलिदानले बनेको हुदा संविधानको रक्षा गर्नका लागि सबैले लाग्नुपर्ने धारणा राख्नुभयो । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । लामो संघर्षपछि नेपालको ऐतिहासिक संविधान जारी भएको खुसीयालीमा हरेक वर्ष असोज ३ गतेका दिनलाई संविधान दिवसका रुपमा मनाउने गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया