दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटाबाट प्रशासकीय कामकाज सुरु गर्ने निर्णय भएको छ । सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले कार्तिक मसान्तभित्र गाउँपालिकाको केन्द्र रातामाटाबाटै कार्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । अहिलेसम्म रातामाटामा गाउँपालिकाको प्रशासकीय भवन, सुरक्षा व्यवस्थापन र अन्य तयारी नहुदा अस्थाई कार्यालय खरकडाबाट गाउँपालिकाको सबै प्रशासनिक कामहरु हुने गरेका छन् ।
हालसम्म रातामाटामा भौतिक पुर्वाधार अभावमा खरकडाबाटै कार्यालय सञ्चालन गरेर आधिकारीक लेटरप्याडहरुमा रातामाटा कार्यालय भनेर कामकाज हुदै आएको गाउँपालिकाका कर्मचारीहरु बताउछन् । तर गाउँपालिकाको केन्द्र तोकिएको तीन बर्ष भन्दा बढी समय बितिसकेकोले आवश्यक आधारभुत व्यवस्थापन गरेर रातामाटाबाटै कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । गाउँकार्यपालिकाका एक जना सदस्यले भन्नुभयो, हामीहरु निर्वाचित भएर कार्यकाल सकिन लाग्दा समेत गाउँपालिकाको केन्द्रबाट कार्यालय सञ्चालन नभएकोले अत्यावश्यक व्यवस्थापन गरेर कार्तिक मसान्तभित्र रातामाटाबाटै गाउँपालिकाको कार्यालय सञ्चालन गर्ने निर्णय गरेका हौँ । रातामाटामा गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि टेण्डरमार्फत निर्माण कम्पनी छनोट गरेर सम्झौता भइसकेको छ । भवन निर्माणको काम सम्पन्न नहुदासम्म बैकल्पिक व्यवस्थापन गरेर कार्यालय सञ्चालन हुने बताइएको छ ।
लेकम गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रातामाटामा यसअघिनै जग्गाप्राप्ती भइसकेकोले गत वर्ष विस्तृत अद्ययन प्रतिबेदन (डिपिआर) समेत तयार गरिएको थियो । स्थानीय तहको निर्वाचनबाट २०७४ सालमा निर्वाचित लेकम गाउँपालिका गाउँकार्यपालिका र गाउँसभाले २०७५ सालमा गाउँपालिकाको केन्द्र सबै वडाहरुको पायक पर्ने स्थान रातामाटामा कायम गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको सिफरिसमा नेपाल सरकारको निर्णय अनुसार राजपत्रमा समेत लेकम गाउँपालिकाको केन्द्र रातामाटा भनेर तीन वर्ष पहिले नै प्रकाशन भईसकेको थियो ।
रातामाटाका स्थानीय पाठक परिवारहरुले गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि जग्गादान गरेका छन् । हालसम्म लेकम गाउँपालिका गाउँकार्यपालिकाले आफैंले गरेको निर्णय कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै आलोचना भइरहेको थियो । पछिल्लो समय रातामाटाबाट कार्यालय सञ्चालन गर्न स्थानीयहरुले दबाब समेत बढाएका थिए ।
अहिलेसम्म गाउँपालिकाको केन्द्र रातामाटासम्म सडक, विद्युत लगायत पुर्वाधारको पहुँच पुगेको छैन् । रातामाटा हुँदै धनथला जोड्ने सडक समेत बजेट अभावमा गतवर्षदेखि अलपत्र परेको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट निर्माणाधिन ऐरिछाना धनथला सडक समयमै निर्माणसम्पन्न नहुँदा गाउँपालिकाको केन्द्र अहिलेपनि यातायातको पहुँचबाट बञ्चित रहेको वडा नम्बर २ का वडासदस्य पदमराज जोशीले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट उक्त सडक निर्माणका लागि २० लाख बजेट मात्रै विनियोजन भएकोमा उक्त बजेट समेत कार्यान्वयनको प्रकृया शुरु हुन सकेको छैन् ।
गाउँपालिकाको केन्द्र तोकिएको तीन वर्षसम्म समेत रातामाटामा भौतिक पुर्वाधार निर्माण नभएको तथा रातामाटाबाट प्रशासनीक काम सञ्चालन नभएकोमा स्थानीयवासी आक्रोशित बनेका छन् । ढिलै भएपनि कार्यालय रातामाटाबाट सञ्चालन गर्ने निर्णय गर्नु र भवन निर्माणको प्रकृया थाल्नुलाई सकारात्मक रुपमा लिनुपर्ने लेकमका स्थानीय केशबराज जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया