दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँले सम्भवतः मंगलवार नै मन्त्रिपरिषद विस्तार गर्नुहुने उहाँको सचिवालय स्रोतले जनाएको छ । गठबन्धनको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम बुझाइसकिएकोले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको हो ।
५ मन्त्री र एक राज्यमन्त्री पाएको एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम मन्त्रीका लागि टुंगो लगाएको हो । यस्तै भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई समेत पठाउने तयारी एकीकृत समाजवादीको छ ।
यस्तै प्रधानमन्त्रीकै दल नेपाली काँग्रेसले पनि थप मन्त्रीको टुङ्गो लगाइसकेको स्रोतले बतायो । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा नारायण खड्कासँगै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जिम्मेवारी पाइसक्नुभएको छ ।
अब कांग्रेसको भागमा तीन फुल मन्त्री बाँकी छ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र प्रसाद बडू मन्त्री बन्ने पक्का जस्तै छ । यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा शशांक कोइरालानिकट नेता डा मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ । कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् ।
यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया