दार्चुला । दार्चुलामा पनि ६६ औँ प्रहरी दिवस २०७८ को पुर्वसन्ध्यामा विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी दिवसको पुर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी ‘तपाईको मास्क खै ?’ (स्थानीय भाषामा तमरो मास्क काँछ ?) अभियानलाई निरन्तरता दिएको छ ।
दार्चुला सदरमुकामस्थित खलंगा बसपार्क, गोकुलेश्वर, लटिनाथ, लाली र हुती बजारमा ‘तपाईको माक्स खै ?’, ‘मास्क लगाऔँ, आफु बचौँ अरुलाई पनि बचाऔँ’ जस्ता सचेतनामूलक प्लेकार्डसहित ¥यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी मावध विश्वकर्माले जानकारी दिनुभयो । खलंगा बसपार्कको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी प्रमुख अतिथि रहनुभएको थियो । थाहा पाउँदा पाउँदै पनि सुरक्षाका मापदण्ड न अपनाइरहेका नागरिकहरुलाई निरन्तर रुपमा झकझकाइरहनु पर्ने तथा सचेतना दिनुपर्ने भएकाले सो अभियान चलाइएको सहायक प्रजिअ जोशीले बताउनुभयो । मास्क नलगाउने व्यक्तिलाई जरिवाना गर्ने गरिएको प्रहरीले जनाएको छ ।
दार्चुलामा पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेर लागु गरिएको प्रहरीले जनाएको छ । महाकाली लोकमार्ग र मुख्य सडक क्षेत्र अन्तरगत खलंगा, दत्तु, धाप, गोकुलेश्वर, पस्ती, मालिकार्जुन, लटिनाथ लगायत क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । लाली, जोलजिवि, दत्तु, खलंगा पुलघाट, तिग्रंम लगायत स्थानमा नागरिक सहायक कक्ष स्थापना गरिएको छ । चाडपर्व लक्षित सुरक्षा योजनाका लागि दार्चुलामा साढे तीन सय बढी प्रहरी परिचालन गरिएका छन् ।
यसैबिच आइतबार दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली स्थित श्री कृष्ण माबि लालीमा “६६औं प्रहरी दिवस २०७८“ को अवसरमा प्रनानि केशब सिंह थापाको कमाण्डमा प्रहरी टोलि खटिएर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शिक्षक, बिद्यार्थी अभिभावक लगायत दुई सय जनाको उपस्थितिमा “तपाईको मास्क खोइ“ कार्यक्रम संचालन गरिएको छ । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण शिक्षक, विद्यार्थीहरुलाई मास्क बितरण गरिएको इलाका प्रहरी कार्यालय लालीले जनाएको छ ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया