दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगडाबाट नेपाल टेलिकमको नयाँ टावर सञ्चालनमा आएको छ । भौतिक निर्माण र उपकरण जडानको काम सम्पन्न भएपछि सोमबारदेखि धुलिगडास्थित टेलिकमको नमस्ते टावर सञ्चालनमा आएको वडा नम्बर ६ का कम्प्युटर अपरेटर भानसिह धामीले जानकारी दिनुभयो ।
अहिलेसम्म धुलिगडाका अधिकासं क्षेत्रका नागरिक फोन र इन्टरनेट सेवाको पहुँच बाहिर थिए । नयाँ टावर सञ्चालनमा आएसंगै झण्डै एक हजार घरधुरी प्रतक्ष लाभाबिंत भएको धामीले बताउनुभयो । सोमबार टावर उद्धाटन कार्यक्रममा नौगाड गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गोरे धामी, नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ (केबी) लगायतको सहभागिता रहेको थियो । धुलिगडा टावरमा तत्काल टु जि सेवा सञ्चालन गरिएको र दशैंपछि फोर जि बिटिएर जडान गरिने टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताउनुभयो ।
दार्चुलाको अधिकासं स्थानमा सोलारबाट सञ्चालित टेलिफोन टावरहरुले राम्रोसंग सेवा प्रवाह नगरेको गुनासो बढ्दै गएको छ । अपिहिमाल, लेकम, व्यास लगायत स्थानीय तहका अधिकासं स्थानमा बादल लागेको बेला र रातीको समयमा टेलिफोन टावरले काम नगर्ने गरेको स्थानीय सेवाग्राहीको गुनासो छ । सञ्चारको युगमा दार्चुलावासीले घाम लागेको समयमा मात्रै टेलिफोन टावरले काम गर्ने र अरु समयमा सञ्चार सम्पर्क बिच्छेद हुनुपर्ने बाध्यता रहेको छ ।
सञ्चार सेवा सुधारका लागि विद्युतिकरण सबै टावरहरुसम्म हुनु अनिवार्य रहेको टेलिकम दार्चुलाले जनाएको छ । केहि टावरहरुमा सोलार सिस्टम थप गर्ने र विद्युतिकरण गर्ने काम भइरहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाई छ । फोन सेवाले समेत राम्रोसंग काम नगर्ने ग्रामिण क्षेत्रका नागरिक इन्टरनेटको पहुँच बाहिर रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




