दार्चुलाका व्यावसायी खसीबोका बेच्न गाउँबाट बजार पुगे

दार्चुला । ग्रामीण भेगबाट दसैंका लागि खसीबोका बजारमा आउन थालेका छन् । महाकाली नगरपालिका–६ निसिल क्षेत्रबाट खसीबोका बिक्रीका लागि सदरमुकाम खलंगा पुगेका छन् । दसैं सुरु भएदेखि नै गाउँबाट खसीबोका लिएर स्थानीय जिल्लाका बजार क्षेत्रमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

महाकाली नगरपालिका–६ बाट स्थानीय जयसिंह बोहराले १२ खसीबोका सदरमुकाम खलंगामा पुगाएका छन् । ७ हजारदेखि १२ हजार मूल्य बराबरका खसीबोका बिक्री गर्न बजारमा आएको छु, उहाँले भन्नुभयो, ३-४ महिनादेखि ८ महिनासम्म पालेका खसीबोका बिक्रीमा छन् । दैनिक ५-७ वटा बिक्री भइरहेका छन् ।’ ७ वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका बोहरा खसीबोका बिक्रीबाट जीवनयापन गर्दै आएका छन् ।

अन्य समयको तुलनामा दसैंतिहारमा खसीबोकाको राम्रो मूल्य पाइने गरेको उहाँले बताउनुभयो । पारिवारिक खर्च आवश्यक परेको बेला कमै मूल्यमा पनि बिक्री गर्नुपर्ने बाध्यता आउँने गरेको उहाँको भनाई छ । अहिले बजारमा ल्याएर बिक्री गर्दा राम्रो मूल्य पाउँछु ।’ उहाँले गाउँमा दसैंतिहारमा बिक्रीका लागि खसीबोका संकलन गर्नुभएको छ। आम्दानीको अन्यस्रोत नहुँदा खसीबोका बेचेरै दसैंको खर्च जुटाउने गरेको बताउनुभयो ।

ग्रामीण क्षेत्रका बासिन्दा आफूले पालेका खसीबोका बिक्री गरेर दसैं खर्च जोहो गर्न लागेका छन् । यतिबेला सदरमुकाम खलंगा, गोकुलेश्वर, लटिनाथलगायत बजार क्षेत्रमा चाडपर्वका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल बढिरहेको छ । गाउँका स्थानीय किसान खसीबोका बिक्रीका लागि सहरतिर झर्न थालेका छन् । गाउँमै राम्रो कारोबार हुने भए पनि कोही व्यवसायी राम्रो फाइदा हुने भन्दै सहर बजारतिर खसीबोका लिएर ओर्लने गर्छन् । विगतदेखि नै व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएको छु,’ नौगाड गाउँपालिका–३ खारका रमेश ठगुन्नाले भन्नुभयो, ‘यसअघिका दसैंमा ८-१० खसीबोका बिक्री गर्थे । यसपालि बढी बिक्री गर्ने लक्ष्य छ । खसीबोका बिक्रीबाट प्राप्त रकमले दसैं मनाउँदै आएको छु ।’

आफूले व्यावसायिक रूपमा धेरै बाख्रापालन नगर्ने र सानोतिनो घर खर्च चलाउनका लागि मात्र परम्परागत रूपमा बाख्रापालन गरिरहेको ठगुन्नाले बताउनुभयो । उनीहरूको समूहले खलंगामा बिक्रीका लागि करिब २० खसीबोका ल्याएका थिए । ग्राहक मिले एक दिनमा बिक्री हुने र नमिले अन्तिममा मासु बिक्रेतालाई बिक्री गर्ने सोचले सदरमुकाम झरेको ठगुन्नाले बताउनुभयो । त्यस्तै, गाउँबाट संकलन गरेर बिक्रीका लागि विगत एक दशकदेखि खसीबोका बिक्री गर्दै आएको व्यास गाउँपालिका–४ का दरपानसिंह कुँवरले बताउनुभयो। सस्तोमा गाउँमा पाउन सके राम्रै कमाइ हुन्छ । एक खसीबोकामा ५ सयदेखि एक हजारसम्म नाफा पाइन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले गाउँमै खसीबोकाको बिक्री बढ्न थालेपछि थोरै मात्र कमाइ हुने गरेको छ ।’

जिल्लाका ब्यास, नौगाड, अपीहिमाल र मार्मा गाउँपालिकामा अन्य ठाउॅको तुलनामा बढी भेडा बाख्रापालन हुने भएकाले अन्य ठाउँबाट यहाँ आएर मानिसहरू खसी, बोका र भेडाबाख्राहरू संकलन गर्छन् । व्यावसायिक रूपमा बाख्रापालन गर्ने र परम्परागत रूपमा भेडाबाख्रा पाल्दै आएका किसानहरूको मूल्यमा भिन्नता हुने गरेको छ । चरण क्षेत्र बढी भएका ठाउँहरूमा व्यावसायिक रूपमा भेडाबाख्रा पाल्ने किसानहरू बढ्दै गएका छन् । ठाउँअनुसार खसीबोकाको मूल्यमा पनि अन्तर हुने गरेको छ । –कान्तिपुरबाट

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?