दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा सञ्चालित १८ वटा अटो कार्वाहीमा परेका छन् । लाइसेन्स बिनै सञ्चालनमा रहेका १८ अटोहरुलाई सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर आसपासको क्षेत्रमा सञ्चालित २१ वटा अटोमध्ये ३ वटा अटो मात्रै चल्ने भएका छन् । २१ मध्ये ३ वटा अटो चालकसंग मात्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) रहेकाले उनिहरुलाई मात्रै चल्न दिने प्रहरीले जनाएको छ । बिना चालक अनुमति पत्र संचालनमा रहेका बाकी १८ अटोलाई जरिवाना गरी संचालनमा रोक लगाइएको डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकाले अटो संचालनका लागी रुट परमिट जारी गरे पछि २०७७ फागुन देखी गोकुलेश्वरमा अटो संचालनमा आएका थिए । यातायात कार्यालयले पहाडी जिल्लाहरुमा अटो संचालनका लागि परमिट दिएको छैन् । नगरपालिकाले परमिट दिएपछि गोकुलेश्वरमा धमाधम अटो भित्रिएका हुन् ।
डिएसपी भट्टका अनुसार, सवारी चालक अनुमति पत्र भएका ३ वटा अटो निरन्तर चल्ने छन्, भने बाकी १८ वटा अटो सवारी चालक अनुमति पत्र नल्याउदा सम्म चल्न दिइने छैन् । बिना अनुमति पत्र संचालन गरेको पाइए कारबाही गरिने उहाँको भनाई छ । अटोमा पिकअप निकै कम हुने भएका कारण यातायात कार्यालयले तराईका जिल्लाहरुमा मात्रै परमिट जारी गर्ने गरेको र पहाडी क्षेत्रमा जोखिम बढी हुने गरेको ट्राफिक प्रहरी हरि खत्रीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया