दार्चुला । दार्चुलामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती भित्र्याएका छन् । दार्चुला सदरमुकामस्थित आ-आफ्ना व्यारेकमा रहेका जमरा घरमा फूलपाती भित्र्याएको सुरक्षा निकायहरुले बताएका छन् । बेलपत्र, दारिम, हलेदो, केराको बोट, उखु, धान, जयन्ती, अशोकको फूललाई नवपत्रिका स्वरुप फूलपातीका दिन भित्र्याएर देवी समक्ष अर्पण गर्ने चलन रहेको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीक फुलपाती भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले जिल्ला सदरमुकामकोे मोहतीमा रहेको भगवति मन्दीरबाट ल्याइएको फूलपाती बाजा गाजा सहित पूजाघरमा भित्र्याएको हो । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण हेडक्वाटरका गणपति नरेन्द्र बम, गुरु गोरख गुल्मका गुल्मपति तथा सेनानी कृष्णचन्द्र ठकुल्ला, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ। आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ। नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ।
गाउँघरदेखि सहर बजारसम्म दशैं पर्वको रौनकता छाएको छ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्, उहाँले भन्नुभयो, फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया