दार्चुलामा दैनिक उपभोग्य वस्तुको भाउ बढ्यो

दार्चुला । दसैंमा जिल्ला सदरमुकाम खलंगाको बजारमा दैनिक उपभोग्य सामानको भाउ बढेको छ । गत वर्षको तुलनामा यसपालिको दसैंमा १० देखि २० प्रतिशत वस्तुको मूल्य थपिएको छ । मोटो चामल प्रतिकिलो ६० रुपैयाँ, मसिनोको ८० रुपैयाँ बिक्री भइरहेको छ । खानेतेलको २ सय ६० देखि ३ सय २० रुपैयाँ लिटरसम्म बिक्री भइरहेको छ ।

गत वर्ष दसैंमा मोटो चामल ५५, मसिनो चामल ७०, खानेतेल २ सय ४० देखि २ सय ८० रुपैयाँ थियो । अन्य दैनिक उपभोग्य वस्तुको बजार भाउ चर्को रूपमा बढेको उपभोक्ताहरू बताउँछन् । दैनिक उपभोग्य सबैजसो सामानको मूल्य थपिएको छ । सबैभन्दा बढी खानेतेलमा ५० रुपैयाँदेखि १२० रुपैयाँसम्म बढेको स्थानीय शेरसिह सामन्तले बताउनुभयो । चिनीमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । चिनी प्रतिकिलो एक सय १० रुपैयाँमा खरिएको उहाँको भनाइ छ ।

‘यहॉंका व्यापारीहरूलाई यतिको मूल्य बढेको भन्दा माथिबाटै सामान महँगिएको बताउँछन् । शेरसिहले भन्नुभयो, ‘सदरमुकाममै दैनिक उपभोग्य वस्तुको मूल्य यति धेरै बढेको छ । गाउॅंमा पसलहरूमा त ज्यादा महंगो छ ।’ यहाँबाट बोकेर लगेको हुनाले बढी मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको व्यास गाउॅंपालिका–५ का व्यापारी सुन्दरसिंह धामीले बताउनुभयो ।

बजारमा पाइने दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक वस्तुहरूको मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन् । सदरमुकामकै बजारमा पहिलेको तुलनामा दैनिक उपभोग्य सामान धेरै मूल्य बढेको छ । ग्रामिण भेगमा त बोकेर लैजानुपर्ने हुँदा स्वाभाविक रूपमा बढ्ने गरेको दुहुका स्थानीय दीपक जोशीले बताउनुभयो । बजार मूल्यजस्तै म्याद गुज्रेका वस्तु ग्रामीण भेगका बजारमा पाइने गरेका छन् । यसमा सम्बन्धित निकायको ध्यान समयमै पुग्नुपर्ने उहाँको भनाइ छ । तराईबाट छोटो अवधिमै उपभोग्य म्याद सकिने वस्तुहरू व्यापारीहरूले पहाडी क्षेत्रमा पठाउने गरेका छन्, उहाँले भन्नुभयो, ‘सदरमुकाम र सडकको पहुँच भएका व्यापारीहरू पनि त्यस्तो ग्रामीण बजारमा पठाउने गर्छन् ।’ ग्रामीण बजारमा अनुगमन कम हुने हुॅंदा व्यापारीहरू त्यस्ता सामान दूरदराजका बजारतिर पठाउँछन् । खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको थोक मूल्य बढेको दार्चुला उद्योग वाणिज्य संघका उपाध्यक्ष इन्द्रराज पन्तले बताउनुभयो। बजार भाउ केही मात्रामा बढेको छ, उहाँले भन्नुभयो, यसको नियन्त्रण माथिबाट नै गर्नुपर्ने हो, तर कसैले चासो देखाएको छैन ।

प्रशासनको लिखित रूपमा बजार भाउ बढेको गुनासो नआएसम्म आखा खुल्दैन । सदरमुकामको बजारमा अनुगमन गर्छन् । असोजको सुरुमा सदरमुकाम विभिन्न पसलको अनुगमन गर्दा म्याद नाघेर वस्तु जफत गरी नष्ट गरिएको थियो । दुई व्यापारीलाई अनुगमनकै क्रममा कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो । जंक फुड र पेय पदार्थ थोरै मात्रामा उपभोग्य म्याद नाघेको भेटियो,’ उहाँले भन्नुभयो, ‘बजार भाउ बढेको गुनासो कतैबाट आएको छैन । आए तत्काल कारबाही गरिन्छ ।’

स्थानीय तहहरूलाई बजार अनुगमन गर्न अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको छ । बजार मूल्य बढ्नुको कारण उपभोग्य वस्तु बिक्री गर्ने डिलरहरूले नै मूल्य बढाएका कारणले उपभोक्ताहरूलाई आफूले त्यही आधारमा बिक्री गर्नुपर्ने अवस्था आएको जिल्ला सदरमुकाम खलंगाका व्यापारी दीपक बडालले बताउनुभयो । उपभोग्य वस्तु बिक्री गर्ने डिलरहरूबाट हामी कहॉं मूल्य बढेर सामान पुगेको छ, उहाँले भन्नुभयो, मूल्य बढेका कारणले आजकाल उपभोक्ताहरू मूल्य किन बढेको भनेर प्रश्न गर्छन् ।

बजार मूल्य बढेका कारणले स्थानीयस्तरमा पाइने तरकारी लगायतका वस्तुहरूको मूल्य पनि व्यापारीहरूले बढाएका छन् । स्थानीयस्तरमा उत्पादन हुने तरकारीको बजार मूल्य पनि अहिले समान्यतया प्रतिकिलोको १० देखि ४० रुपैयाँसम्म बढेको महाकाली नगरपालिकाका स्थानीय किरण जोशीले बताउनुभयो । ‘सबै वस्तुको मूल्य बढेका कारणले अहिले बजारमा तरकारीको मूल्य पनि बढेको छ ।’ उहाँले भन्नुभयो, ‘आलुमै प्रतिकिलो ३५ रुपैयाँसम्म बढेको छ ।’

दसैं–तिहार सुरु भए पनि सुपथ मुल्य पसल सञ्चालनको कुनै निकायबाट पहल हुन सकेको छैन । महँगो सामान किनेर खानुपर्ने बाध्यता छ । नोकरी भएको परिवारले जेनतेन गुजारा चलाएका छन् । आम्दानी नहुने परिवारलाइ जिउनै ग्राहो भएको जोशीको भनाइ छ । –कान्तिपुरबाट

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?