दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ र ७ मा छ महिनादेखि टेलिफोन लाइन अवरुद्ध हुँदा धामीगाउँ प्रहरी चौकीका सुरक्षाकर्मी र सेवा क्षेत्रका स्थानीय सेवाग्राही समस्यामा परेका छन् । गाउँघरमा कुनै घटना भएमा प्रहरीलाई खबर गर्न टेलिफोन लाइनले काम नगर्दा सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ ।
प्रहरीलाई घटनाबारे सूचना प्राप्त गर्न, रिर्पोटिङ गर्न र आवश्यक अनुसन्धान गर्नका लागि टेलिफोन लाइन नहुदा निकै अवरोध हुने गरेको धामीगाउँ प्रहरी चौकीका असइ तिर्थबहादुर भाटले बताउनुभयो । लामो समयदेखि टेलिफोन लाइन अवरुद्ध भएपनि सरोकारवालाहरुले चासो नराखेको उहाँको भनाई छ । कुनै घरमा घटना घट्यो भने दुई तीन दिनसम्म थाहा नपाइने अवस्था रहेको छ, असई भाटले भन्नुभयो, सञ्चारविहिनताका अवस्थामा काम गर्न निकै चुनौती छ । प्रहरी चौकीमा सञ्चार अभावका साथै बर्सातको समयमा घरको छानो चुहिने र शौचालयको समेत राम्रो व्यवस्थापन नभएको उहाँले बताउनुभयो ।
कुनै घटना भएमा प्रहरी चौकीलाई जानकारी गराउन ४ नम्बर वडाका सेवाग्राहीले चार घण्टा हिड्नुपर्ने बाध्यता रहेको स्थानीय शंकरदत्त पन्तले जानकारी दिनुभयो । फोन गरेर बोलाउन टेलिफोन लाइन हुदैन, प्रहरी चौकीसम्म पुगेर प्रहरीलाई जानकारी गराउदा प्रहरी घटनास्थलमा पुग्न सात आठ घण्टा लाग्ने र त्यतिबेलासम्म घटनाका प्रमाणहरु नष्ट हुने वा दोषि फरार भइसक्ने चुनौती रहेको छ । अत्यावश्यक कामका लागि घर बाहिर रहेका आफन्तहरुलाई सम्पर्क गर्न समेत टेलिफोन लाइन नहुदा घण्टौँ हिडेर डाडापाखाहरुमा पुग्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।
सञ्चारको युगमा समेत सञ्चारसम्पर्क विहिन भएर बस्नुपर्दा निकै अप्ठेरो लाग्ने गरेको धामीगाउँका स्थानीय सुरज धामीले बताउनुभयो । वडा नम्बर ४ मा रहेको नेपाल टेलिकमको टावर छ महिनादेखि बन्द हुदा डिलाशैनीको वडा नम्बर ७ र ४ का साथै पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका केहि वडाहरुमा समेत सञ्चार समस्या रहेको डिलाशैनीबाट लोकदर्पण समाचारदाता महेशराज पन्तले खबर पठाउनुभएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




