दार्चुला । दार्चुलामा शुक्रबार बेलुकीदेखि विद्युत अवरुद्ध बनेको छ । पटकपटक विद्युत अवरुद्ध हुँदा दार्चुलाका सेवाग्राही आजित बनेका छन् । विद्युत अवरुद्ध हुदा बिजली बत्ती बाल्न, खाना पकाउन, मोबाइल चार्ज गर्न, विद्युतिय उपकरण सञ्चालन गर्न समस्या भएको सेवाग्राहीको गुनासो छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका अनुसार शुक्रबार बलाचबाट ल्याएको ३३ केभि अन्तरगत मालिकार्जुन क्षेत्रमा लाईनमा समस्या आएपछि विद्युत अवरुद्ध भएको हो । मर्मतको लागि प्राविधिकहरु महाकाली नगरपालिकाको निसिल हुदै शैल्यशिखर नगरपालिकाको बरमुडे क्षेत्रमा पुगेपनि अझै समस्या समाधान हुन सकेको छैन् । शनिवार विहानै देखि २ वटा टोली बनाएर फल्ट पत्ता लगाउन प्राविधिकहरु खटिएको कार्यालयले जनाएको छ । तर विद्युत कार्यालयको ढिलासुस्ती र लापरवाही, प्रतिकुल मौसम र सिमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण दार्चुलामा बेलाबेलामा विद्युत सेवा अबरुद्ध हुने गरेको छ ।
३० मेगावाट क्षमताको चमेलिया लगायत साना ठूला दर्जनौँ जलविद्युत आयोजना भएको दार्चुला जिल्लाका अधिकांश ठाउँहरु अहिलेसम्म विद्युत विहिन छन् । दार्चुलाको बलाचबाट ल्याएको ३३ केभि लाईनमा समस्या आए पछि जिल्लाको महाकाली नगरपालिका मालिकार्जुन गाउँपालिका, लेकम, दुहु र व्यास गाउँपालिकाका सेवाग्राहीहरु विद्युतबाट बञ्चित भएका छन् । बिद्युत अवरुद्ध हुँदा जिल्लाका अधिकासं सञ्चारमाध्यम समेत अनियमित बनेका छन् ।
दार्चुला सदरमुकाम खलंगामा वितरण गरिएको डुङरी जलविद्युत समेत एक वर्ष लामो समयदेबि बन्द हुँदा बैकल्पीक साधन नभएका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन् । दार्चुलामा अहिलेपनि ६० प्रतिषत घरधुरीमा विद्युत विस्तार भएको छैन भने विद्युत पुगेको स्थानमा समेत अनियमित हुँदा सेवाग्राही समस्यामा छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया