दार्चुला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
कात्तिक ६ गते बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमध्ये सबै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण झण्डै पाँच हजारभन्दा बढी वडाहरुको एकसाथ भर्चुअल उद्घाटन गर्नुहुनेछ । यसैलाई नै औपचारिक उद्घाटन मानिनेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत असोज १५ देखि १७ गतेसम्म सम्पन्न भएको विधान महाधिवेशनले यो मिती तय गरेको कार्यालय सचिव तामाङले बताउनुभयो । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका रहेको छ ।
नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।
कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरि तयारी गरिरहेको छ ।
एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताउनुभयो। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया