दार्चुला । आइतबार रातीदेखि वर्षा संगै दार्चुलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले उच्च पहाडी डाडाकाडा ढाकीएका छन् । व्यास गाउँपालिका वडा नम्बर १ को तिकंर गाउँसहित लेकाली भेगमा सोमबार विहानदेखी हिमपात भइरहेको प्रहरीले जनाएको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ । हिमपात भएसंगै चिसो बढ्न थालेको अपिहिमाल र व्यास गाउँपालिकाका स्थानीयले बताएका छन । प्रहरीका अनुसार चिसोका कारण तिकंर गाउँमा खानेपानीको पाइपभित्र पानी जमेर धारामा पानी आउन सकेको छैन् । भारी हिमपात भएपछि तिकंरको जनजीवन कष्टकर बनेको छ ।
वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको मकै र धान बालीमा समेत क्षति पुगेको छ । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । दार्चुलाको लेकम क्षेत्रमा अधिकासंले अन्नबाली भित्र्याइसकेको भएपनि मार्मा र दुहुँ क्षेत्रमा किसानहरुले आज भोली अन्नबाली भित्र्याइरहेका छन् । भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि किसानहरु चिन्तित बनेका छन् ।
अन्नबालीका साथै भिरपाखा (फागाला) मा काटेर सुकाएको खर समेत बर्षाले कुहिन थालेको छ । बर्षभरी मेहनत गरेर फलाएको अन्नबाली बर्षाले क्षती गरेपछि किसानहरु चिन्तित बनेका हुन् । लेकम क्षेत्रमा अन्नबाली भित्र्याएर गहुँ, जौँ छर्ने तयारी गरिरहेका किसानहरुले समेत बर्षाका कारण खेतमा काम गर्न बाँधा पुगेको बताएका छन् ।
दार्चुलामा आइतबार बेलुकीदेखि निरन्तर बर्षा भइरहेको छ । केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचना जारी गरेको छ। बुधबारसम्म बर्षा हुनसक्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिमा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि भारी वर्षा भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया