दार्चुला । आइतवार रातिदेखिको अविरल वर्षाले व्याँस गाउँपालिकामा वडा नम्बर ३ मा तीन घर भत्किएका छन् । २ घर उच्च जोखिममा परेका छन् । पहिरोले लक्ष्मणसिंह कुँवर, इन्द्रसिंह कँुवर र महिमन कुँवरको घर भत्किएको बताइएको छ । तातोपानी खोलामा आएको बाढीले सिनास्थित सेरा झोलुङ्गे पुल पुरेको प्रहरीले जनाएको छ । सिद्धमावि सिना जाने बाटो १० ठाउँमा भत्केका कारण आवतजावतमा समस्या भएको छ ।
आइतबारदेखि बुधबारसम्मको अबिरल बर्षाका कारण दार्चुलाको दुहुँ, व्यास, नौगाड, मार्मा, महाकाली र अपिहिमाल लगायत स्थानीय तहमा अन्नबालीमा समेत ठूलो क्षती गरेको छ । सबैभन्दा बढी क्षती व्यास गाउँपालिकामा भएको प्रहरीले जनाएको छ । व्यास गाउँपालिका–६ पन्तोलीमा बिरसिह धामी, अमरसिंह धामी लगायत ४५ घरपरिवारको मकैबाली बाढीपहिरोले बगाएको छ । खेतमा पाकेर भित्र्याउने तयारी गरिरहेको झण्डै २० कुण्डल मकैबाली पहिरोले बगाएपछि किसानहरु चिन्तित बनेका छन् ।
बर्षभरी मेहनत गरेर खेतमा लगाएको सबै मकैबाली पहिरोले बगाएपछि भोकमरीको चिन्ता भएको कृषक बिरसिह धामीले बताउनुभयो । निरन्तर बर्षातका कारण मार्मा गाउँपालिकाका अधिकांस स्थानहरुमा समेत भित्र्याउने समय भएको मकैबाली, तरकारी र दलहनबाली खेतमै नष्ट भएको छ । खेतमा पाकेर भित्र्याउने बेला भएको मकै, धान लगायत अन्नबाली र दलहनबाली क्षतविक्षत अवस्थामा रहेको मार्मा गाउँपालिका–६ का कृषक पानसिह धामीले बताउनुभयो । अन्नबाली माटोमा मिसिएपछि भोकमरीको चिन्ता थपिएको उहाँको भनाई छ ।
महाकाली र चमेलिया क्षेत्रका कृषकहरुले अन्नबाली भित्याएर गहुँ छर्ने तयारी गरिरहेकोमा बर्षाका कारण खेतबारीको काम प्रभावित भएको छ । मेलापातमा काटेर सुकाएको खर समेत कुहिएको कृषकहरुको गुनासो छ । बढी बर्षा भएकोले खेतमा लगाएको गहुँको बिउ समेत कुहिने चिन्ता लागेको लेकमका कृषकहरुले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया