दार्चुला । सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि शुक्रवार मध्यरातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
गएको भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । आज पनि एमालेको अवरोधकै बीच चलेको बैठकले केही प्रस्ताव पारित गर्दै अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाएको थियो ।
सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा।श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने, सुनकोसी मरिन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिने लगायतको निर्णय गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । किसानलाई क्षतीको विवरण हेरेर २० देखि ६५ प्रतिषतसम्म राहत दिने निर्णय पनि गरिएको छ ।
बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया