दार्चुला । दशैं तिहारपछि दार्चुलामा जात्राको रौनकता छाएको छ । कात्तिक शुक्ल पक्ष सुरु भएसँगै जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा सुरु भएको हो । शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा झण्डै एक महिनासम्म जात्रा लाग्ने गर्दछ । लेकम गाउँपालिकाको ऐडिबाग मन्दिर मैखोलीबाट दशैं र लेकमकै मैखोली लटिनाथ मन्दिर खर्क, शैल्यशिखरको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुनको लटिनाथ कैयलपाल मन्दिर चौडमा भाइटिका अर्थात द्धितिया तिथिका दिन जात्रा सम्पन्न भएको छ ।
ऐतिहासिक एबं धार्मिक तिर्थस्थल श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा हरेक वर्ष कार्तिक शुक्ल पक्ष त्रियोदशी तिथिमा आयोजना हुने शिखर पुजन तथा दर्शन जात्रा यस वर्ष कार्तिक ३० गते हुने भएको छ । शिखर जात्रामा भक्तजनहरु १५ दिन पहिले देखिनै विशेष तयारी (चोखो भोजन र जीवनशैली अपनाएर) गरेर मात्रै जाने गरेका छन् । यस्तै मड, मैखोली, उचाकोट, गराडी लगायत विभिन्न स्थानमा रहेका मालिकार्जुन मन्दिरहरुमा मंसिर १ गते चतुर्दशीका दिन जात्रा लाग्ने बताइएको छ । मंसिर १ गते वैदिक विधिविधान बमोजिम मालिकार्जुन जात्रा आयोजना हुने मालिकार्जुन धार्मीक बिकास समितिले जनाएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ जैपुरमा रहेको लटिनाथ मन्दिरमा कात्तिक २७ गते शनिवार नवमी तिथिका दिन जात्रा लाग्ने बताइएको छ । सर्मोलीका धुरा, हुनैनाथ लगायत विभिन्न स्थानमा रहेका हुनैनाथ मन्दिरहरुमा अष्टमीका दिन कात्तिक २६ गते जात्रा लाग्ने जात्रा व्यवस्थापन समितिहरुले जनाएका छन् । कुणीको भगवती मन्दिर र पाती मन्दिरमा मंसिर २ गते पुर्णीमाको दिन अन्तिम जात्रा लाग्ने ज्वोतिष इन्द्रदेब जोशीले बताउनुभयो । जात्राहरुलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न मदिरा र जुवातास निषेध गरिएको लटिनाथ मन्दिर जयपुरका भण्डारी मनिदत्त बिष्टले बताउनुभयो ।
कात्तिक महिना शुरु भएसंगै दार्चुलासहित सुदूरपश्चिमका बैतडी, डडेल्धुरा लगायत जिल्लामा जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कात्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, सुर्नयास्थित भवानी, शिवनाथ, महारुद्र, पुर्चौडीस्थित त्रिवेणीधाम (राताशीला), दोगडाकेदारमा रहेको भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कार्तिक शुक्ल पक्षमै मेला (जात्रा) लाग्ने गर्दछ ।
बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको छ । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो ।
यो समयमा लाग्ने जात्रामा टाढा–टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयहरु बताउछन् । भाइटीकाका दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।
यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया