दार्चुला । दार्चुलाका बाढीपहिरो पीडित १०७ परिवारले नेपाल सरकारबाट अनुदान रकम पाउने भएका छन् । २०७७ साल जेठ ३१ गते पछि आएको बाढीपहिरोले घर जग्गा पूर्ण रुपमा क्षति भएका १५ परिवारलाई घर निर्माणका लागि केन्द्र सरकारबाट ८ लाख ५० हजार अनुदान रकम दिइने भएको छ। दार्चुलामा बाढीपहिरो पीडित १०७ परिवारमध्ये पूर्णरुपले क्षति भएका १५ परिवारलाई जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत तीन किस्तामा ८ लाख ५० हजार अनुदान रकम दिइने बताइएको छ ।
घर जग्गा पूर्णरुपमा क्षति भएका १५ जनाले ३ लाख जग्गा खरिद, ५ लाख घर निर्माण र अस्थायी आवास निर्माणका लागि ५० हजार गरी ८ लाख ५० हजार पाउने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । आशिंक क्षति भएका ३६ जनाले घर पुनःनिर्माणका लागि ५ लाख ५० हजार रुपैयाँ अनुदान पाउने छन् । उनीहरुले घर निर्माणका लागि ५ लाख तथा अस्थायी आवास निर्माणका लागि ५० हजार गरी ५ लाख ५० हजार पाउने बताइएको छ । यसैगरी ५६ जनाले घर मर्मत प्रबलीकरणका लागि ५० हजार अनुदान रकम पाउने भएका छन् ।
बाढी र पहिरोले गरेको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पठाएपछि सरकारले घर निर्माण, जग्गा खरिद तथा अस्थायी आवास निर्माणका लागि अनुदान पठाएको हो । पहिलो किस्ताको रकम जिल्ला प्रशासन कार्यालय दार्चुलाको खातामा आइसकेकोले आवश्यक कागजातसहित पीडित आए कात्तिक २८ गते आइतबारदेखि नै अनुदान उपलब्ध गराइने बताइएको छ ।
सम्बन्धित समाचार: दुहुँ गाउँपालिकाका बाढीपहिरो पिडितलाई राहात वितरण
सम्बन्धित समाचार: एमाले दार्चुलाद्धारा बाढीपहिरो पीडितलाई राहत वितरण, पूर्वमन्त्रीको भेटघाट


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया