दार्चुला । बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ शुरु भए पनि कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना अन्योलमै छ । देशभर कार्यक्रम शुरु भए पनि दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ का गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना अन्योलमा परेको छ । राष्ट्रिय जनगणना २०७८ अन्तरगत जनगणना गर्न दार्चुलाका १८३ गणक र ४९ जना सुपरिवेक्षकहरुलाई फिल्डमा खटाइएको भएपनि उक्त क्षेत्रमा कोहि पनि गएका छैनन् ।
सरकारले कात्तिक २५ गतेबाट शुरु गरेर १५ दिन पछि मङ्सिर ९ गते कार्यक्रम सम्पन्न गर्ने तालिका छ । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने केन्द्रीय तथ्याङ्क विभागले तयारी गरे पनि भारत सरकारको असहमतिपछि कार्यक्रम प्रभावित बनेको थियो । यता जनगणना गराउने विषयमा माथिल्लो निकायमा छलफल शुरु भएको र विभाग भूउपग्रहको सहयोगबाट पनि वैकल्पिक विधि अपनाउने सोच राखेको विभागका निर्देशक तथा तथ्याङक शाखा प्रमुख ढुण्डिराज लामिछानेले बताउनुभयो । हामीले स्थानीय सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेका छौं, समयतालिका अनुसार गणना सम्पन्न गर्नेछौं उहाँले बताउनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भने केन्द्रीय तथ्याङ्क विभागले कार्यालयमा कुनै पनि जानकारी र समन्वय नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भटट् जोशीले जानकारी दिनुभयो । कसरी, कुन विधि र प्रक्रियाबाट जनगणना गर्छ भन्नेमा कुनै निश्चित छैन, त्यसैले त्यस क्षेत्रमा जनगणना गर्ने बारे अन्यौलता भएको उहाँले बताउनुभयो ।
भारतको सिमाना जोडिएको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई विभागले कूूटनीतिक माध्यमबाट भारत सरकारसँग समन्वय गर्दै आएको जनाएको छ । जनगणना गर्नसकिने वातावरण बन्न नसके भूउपग्रहको माध्यमबाट सो क्षेत्रमा घरको गणना गर्ने र एउटा घरमा औसत रूपमा बसोबास गर्ने परिवारको सङ्ख्यालाई आधार मानेर तथ्याङ्क निकालिने तयारी विभागले गरेको छ ।
विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया