दार्चुला । दार्चुलामा दशैं, तिहारपछि सुरु भएका जात्राहरु सम्पन्न भएका छन् । दर्जनौँ शक्तिपिठ र मन्दिरहरुमा पुजाआजा र पराम्परा अनुसार कात्तिक शुक्ल पक्षभरी लागेका जात्राहरु पुर्णीमासंगै सम्पन्न भएको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनकसिंह धामीले जानकारी दिनुभयो ।
लेकमको ऐडिबाग मन्दिर मैखोलीबाट दशैं र मार्माको लटिनाथ मन्दिर तलाइमाण्डौँ, लेकमकै मैखोली लटिनाथ मन्दिर खर्क, शैल्यशिखरको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुनको लटिनाथ कैयलपाल मन्दिर चौडमा भाइटिका अर्थात द्धितिया तिथिका दिन जात्रा सम्पन्न भएको थियो । हुनैनाथ देवताको बासस्थान रहेको मालिकार्जुनको हुनैनाथ, लेकमको सर्मोली र कुणीस्थित हुनैनाथ मन्दिरमा अष्टमी तिथिमा कात्तिक २६ गते रात्री जात्रा सम्पन्न भएको थियो । लेकमकै प्रशिद्ध जात्राको रुपमा रहेको लटिनाथ मन्दिर जयपुर जात्रा कात्तिक २७ गते नवमीका दिन भब्यताका साथ सम्पन्न भएको मन्दिरका भण्डारी मनिराज बिष्टले जानकारी दिनुभयो । ऐतिहासिक एबं धार्मिक तिर्थस्थल श्री शैल्य मल्लिकार्जुन राष्ट्रिय धाममा कात्तिक शुक्ल त्रियोदशीका दिन ३० गते पुजन जात्रा र चतुर्दशीका दिन मंसिर १ गते मालिकार्जुन मन्दिरहरुमा रात्री जात्रा सम्पन्न भएका छन । भगवती मन्दिर कुणी र पाती मन्दिरमा मंसिर २ गते पुर्णीमाको दिन अन्तिम जात्रा लागेको जात्रामा सहभागि बाशुदेब जोशीले बताउनुभयो ।
जात्राहरुमा हजारौँको कारोबार भएको व्यापारीहरुले बताएका छन् । जात्राालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न सबैजसो मन्दिरहरुमा मदिरा र जुवातास निषेध गरिएको थियो । रात्री जात्रालाई पुजाआजा गर्ने, दमाहा बजाउने, खेलहरु खेल्ने र आफन्तहरुसंग भेटघाट गर्ने अवसरका रुपमा लिने गरिएको छ । कात्तिक महिना शुरु भएसंगै दार्चुलासहित सुदूरपश्चिमका बैतडी, डडेल्धुरा लगायत जिल्लामा पनि जात्राको रौनकता छाउने गरेको छ ।
परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको छ । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो । जात्रामा दर्शनका लागि टाढा रहेका आफन्तहरु र सीमावर्ती क्षेत्रका दर्शनार्थीहरु समेत आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गरेको स्थानीयहरु बताउछन् । जात्राहरु सम्पन्न भएसंगै गाउँ भित्रिएका मानिसहरु कार्यक्षेत्र फर्किन थालेका छन् ।
रात्री जात्रामा असामाजिक र नकारात्मक गतिविधिहरु बढ्दै गएकोले दिउँसो जात्रा लगाउने विषयमा बहस शुरु भएको र लेकमको मैखोली क्षेत्रमा दिउँसो जात्रा लगाउन थालिएको छ । एकैपटक दिउँसो लगाउन नसकिएपनि त्यो विषयमा गम्भीर छलफल भइरहेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनकसिंह धामीको भनाई छ । रात्री जात्रामा नकारात्मक गतिविधिहरुले प्रशय पाइरहेको र दुर्घटनाको जोखिम समेत रहेकोले दिउँसो उज्यालो वातावारणमा जात्रा लगाउनुपर्ने आवाज बढ्दो छ । केहि मानिसले परम्परा मास्न नहुने तर्क गरेपनि देबीदेबताको पुजाआजा गर्न दिउँसो र राती जुनसुकै बेला पनि दोष नरहेको र विगतमा सिमित मानिस र कामको चापका कारण राती जात्रा लगाउन थालिएपनि प्रविधिको विकास, जनसंख्या बढ्नु र अन्य विभिन्न कारणले दिउँसो जात्रा लगाउनु राम्रो हुने अधिकासंको तर्क छ ।
लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशी लगायत जनप्रतिनिधि र केहि मन्दिरका भण्डारीहरुले समेत दिउँसो जात्रा लगाउनुपर्ने आवश्यकता बढेको पक्षमा वकालत गरिरहेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया