दार्चुला । व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिङ्कर गाउँ अतिक्रमित नेपाली भूमि कालापानी भन्दा करिब १२ किलोमिटर दूरीमा छन् । छाङरु ३२ सय मिटर र तिङ्कर ३६ सय मिटरको उचाइमा भएकोले हिउँद लागेपछि ती दुवै गाउँमा बाक्लो हिमपात संगै जाडो बढेर बस्न सकिदैन । प्रत्येक वर्ष मंसिर पहिलो साता यहाँका नागरिक बेँसी झर्ने गरेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभउयो । मंसिर पहिलो साता खाद्यान्न, लालाबाला, बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलंगा झर्ने व्यासबासी छ महिना जाडो छलेर मध्य वैशाखमा फेरी गाउँ फर्किन्छन । जनगणनाकै कारण यो बर्ष अहिलेसम्म व्यासबासी बेँसी नझरेको वडाअध्यक्ष बोहराले बताउनुभयो ।
सदरमुकामबाट व्यासका विभिन्न गाउँ आवातजावत गर्न भारतको बाटो प्रयोग गर्नुपर्छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भन्नुभयो, सरकारी काम र बसाइसराइका लागि भारतीय प्रशासनसंग अनुमति माग्ने गरिएको छ । अनुमति स्वीकृत भएको खण्डमा तोकिएको संख्या अनुसार मानिसलाई प्रवेश पत्र दिने गरिएको छ । छाङरु र तिङ्कर गाउँमा गरी ११३ र एउटा सशस्त्र प्रहरी र अर्को नेपाल प्रहरीको आवास गरी कुल ११६ घरपरिवार छन् । भारतले बाटो प्रयोग गर्न दिए खलंगास्थित महाकाली पुलघाट तरेर भारतको धार्चुला पुग्न सकिन्छ । धार्चुलाबाट सवारी साधनमार्फत् व्यास गाउँपालिका जोड्ने पुलसम्म पुगिन्छ । तर भारतीय बाटोको प्रयोग गर्नुपर्दा भारतीय पक्षबाट बेलाबेला दुब्र्यवहारको सामाना गर्नुपरेको र शीर निहुराएर यात्रा गर्नुपरेको स्थानीय बताउछन् ।
छ महिना मात्रै बसोबास हुने भएकोले छाङरु र तिङ्करका विद्यालय बर्षौदेखि दार्चुला सदरमुकाम खलंगामा मात्रै सञ्चालित छन् । जाडोका कारण वडा कार्यालय, स्वास्थ्य चौकीलगायत सरकारी कार्यालयहरू समेत खलंगा सारीएको छ । केहि दिनभित्रै गणकहरु छाङरु र तिङ्कर पुग्न नसके स्थानीयहरु बेँसी झरिसक्ने भएकोले सबैको गणना गर्न चुनौती थपिने वडाअध्यक्ष बोहराले बताउनुभयो ।
नेपाली भूमि हुँदै जनगणना टोली छाङरु र तिङ्कर प्रस्थान
दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार मात्रै नेपाली बाटो हुँदै व्यास प्रस्थान गरेको छ । छाङरु र तिङ्करको जनगणनाका लागि गणकलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि टोली नेपाली भूमि हुँदै जोखिमपूर्ण बाटोको प्रयोग गरेर त्यसतर्फ गएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताउनुभयो । शुक्रबार सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर खलंगाबाट छाङरु र तिङ्करको जनगणनाका लागि प्रास्थान गरेका छन । गणक राजेन्द्र कार्कीलाई पनि टोली संगै जान भनिएको उहाँले बताउनुभयो ।
खलंगादेखि व्यास गाउँपालिका–२ दुम्लीङसम्म बाटो ठिक छ, दुम्लीङदेखी छाङरु र तिङ्करसम्म घर, पशल र मानवआवाजावत छैन, जनगणना अधिकारी पाण्डेले भन्नुभयो, दुम्लीङभन्दा माथि जान सक्छन कि सक्दैनन अहिले नै भन्न सकिन्न तर सुरक्षाकर्मीसंगको समन्वयमा छाङरु र तिङ्कर पुग्ने मनोबलका साथ खलंगाबाट टोली प्रस्थान गरेको छ । नेपालतर्फ जोखिमपूर्ण बाटो भएका कारण व्यासको वडा नम्बर १ का स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै दार्चुला सदरमुकाम खलंगासम्म आवतजावत गर्दै आएका छन् । तर जनगणनाका लागि गणकलाई छाङरु र तिङ्कर जान भारतले बाटो नदिएको हो । जनगणनाका लागि छाङरु र तिङ्करसम्म जाने बाटोको प्रयोग अनुमतिका लागि तीन पटक पत्राचार गरेपनि अनुमति नपाएको दार्चुला प्रशासनले जनाएको छ ।
देशभरी कात्तिक २५ गतेदेखि गणकहरु जनगणनाका लागि सबै वडामा खटिएका थिए । छाङरु र तिङ्कर जान भारतीय बाटोको प्रयोग गर्नुपर्ने भएकोले भारतलाई औपचारीक र अनौपचारीक अनुरोध गरिएपनि अनुमति नपाएको नेपाली अधिकारीहरुले बताएका छन् । कात्तिक २५ गते माथिल्लो क्षेत्रमा पहिरो गएर बाटो बिग्रेको छ, केहि दिन पछि अनुमति दिउला भनेर अल्झाएको भारतीय प्रशासनले पछिल्लो समय भारतकै केन्द्र सरकारबाट गणकलाई जान दिने नीति छैन भन्ने निर्देशन आएको र बाटो समेत राम्रो नभएकोले तत्काल अनुमति दिन नसकिने जवाफ दिएको जनगणना कार्यालय दार्चुलाले जनाएको छ । व्यासको वडा नम्बर १ बाहेक दार्चुलाका ६० वडामा शुक्रबारसम्म ८० प्रतिषत जनगणनाको काम सकिएको जनगणना अधिकारी पाण्डले बताउनुभयो ।
अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुरामा जिल्लाबाट भौतिक रुपमा जनगणना गर्न नसकिने उहाँले बताउनुभयो । केन्द्रबाट बैकल्पीक विधिको प्रयोग गरेर जनगणना गर्ने कुरा सुन्नमा आएको बताउदै उहाँले भौतिक उपस्थितिमा जनगणना गर्न सकिने अवस्था नरहेको जानकारी दिनुभयो । जनगणनाको पहिलो चरणको घर तथा घर परिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




