दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटाबाट गाउँपालिकाको प्रशासनिक कामकाज शुरू भएपछि खरकडाबासीले कर्मचारीहरुको विदाइ गरेका छन् । स्थानीय तह स्थापनापछिका चार बर्ष लेकम गाउँपालिकाको कार्यालय वडा नम्बर ४ खरकडाबाट अस्थाई रुपमा सञ्चालन भइरहेकोमा पछिल्लो समय गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन भइरहेको छ । खरकडाका जेष्ठ सदस्य करबिरसिंह बस्नेतको अध्यक्षता एबं लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरबहादुर ऐरको प्रमुख आतिथ्यतामा आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरुलाई सम्मानका साथ विदाइ गरिएको स्थानीय रमेश बगालले जानकारी दिनुभयो । विभिन्न असुविधाका बाबजुद चार बर्ष खरकडामा बसेर कार्यसम्पादन गरेकोमा कर्मचारीहरुलाई धन्यबाद व्यक्त गर्दै अगामी दिनमा उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको उहाँले बताउनुभयो । कर्मचारीहरुले समेत चार बर्षसम्म आत्मियताका साथ सहयोग गरेको भन्दै खरकडाबासीलाई धन्यबाद व्यक्त गरेका छन् ।
गाउँपालिकाको केन्द्र निर्धारण भएको चार बर्षपछि गाउँपालिकाको कार्यालय रातामाटाबाट सञ्चालन भएपछि रातामाटा क्षेत्रका स्थानीय खुसी भएका छन् । गाउँपालिकाको अस्थायी कार्यालय खरकडाबाट कागजात र अन्य सामाग्री रातामाटा सारेर प्रशासनिक काम गत सातादेखि शुरु भएको गाउँपालिकाले जनाएको छ । नेपाल राजपत्रमा चार बर्ष पहिले नै लेकमको केन्द्र रातामाटा कायम भएको भनेर प्रकाशन भइसकेको भएपनि गाउँकार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाको कार्यालय रातामाटाबाट शुरू भएपछि स्थानीय खुसी भएका हुन । गाउँपालिकाको केन्द्र रातामाटाबाटै कार्यालय सञ्चालन गर्न माग गर्दै स्थानीयहरुले पटकपटक आन्दोलन समेत गरेका थिए ।
रातामाटामा भौतिक पुर्वाधारको व्यवस्थापन नहुदा कार्यालय सञ्चालनमा ढिलाइ भइरहेको थियो, गाउँपालिका अध्यक्ष परमानन्द जोशीले भन्नुभयो, अहिले बैकल्पिक ब्यवस्थापन गरेर गाउँकार्यपालिकाको निर्णय अनुसार कार्यालय रातामाटाबाट सञ्चालन गरेका छौँ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि टेण्डरमार्फत निर्माण व्यवसायी छनोट गरेर सम्झौता भइसकेको उहाँले बताउनुभयो । चार बर्षसम्म खरकडाबाट कार्यालय सञ्चालन गर्दा स्थानीयहरुबाट पाएको साथ, सहयोगप्रति उहाँले धन्यबाद व्यक्त गर्नुभयो ।
६ वटा वडा रहेको लेकम गाउँपालिकाको केन्द्र वडा नम्बर ४ रातामाटामा राख्ने विषयमा चार बर्ष पहिले नै गाउँसभाका बहुमत सदस्यहरुले मतदान गरेका थिए । गाउँपालिकाकै निर्णय अनुसार नेपाल सरकारले समेत लेकमको केन्द्र रातामाटा कायम गरेर राजपत्रमा प्रकाशन गरेको थियो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया