दार्चुला । आउँदो दुई वर्षभित्र नेपालका सबै घरधुरीमा बिजुली पुर्याउने सरकारको योजना छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा बिजुली सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ । देशभरीका ९० प्रतिषत घरधुरीमा बिजुली पुगिसकेको सरकारको तथ्यांक भएपनि दार्चुलाका ६० प्रतिषत घरधुरीमा अझैपनि बिजुली पुग्न नसक्दा आधाभन्दा बढी दार्चुलावासी अन्धकारमै छन् ।
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कुल सात सय ५३ पालिकामध्ये चार सय ७१ पालिकामा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, एक सय १३ पालिकामा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ । ४५ पालिकामा ३५ देखि ६५ प्रतिशत, ६३ पालिकामा ५ देखि ३५ र ६१ पालिकामा पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुली उपलब्ध भएको छ । दिगो विकास लक्ष्यले निर्धारण गरेको क्षेत्रमध्ये ऊर्जाको उपलब्धता पनि महत्त्वपूर्ण रहेको छ ।
सुदूरपश्चिम प्रदेशका कुल नौ जिल्लाका पाँच लाख ४७ हजार ६ सय ७१ घरमध्ये अहिलेसम्म ७१ दशमलव ०७ प्रतिशतमा बिजुलीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । त्यसमा बाजुरामा १३ दशमलव ४४, बझाङमा २१ दशमलव ५८, दार्चुलामा ४० दशमलव ५८, बैतडीमा ३४ दशमलव ३६ र अछाममा ४५ दशमलव ३५ प्रतिशतमा बिजुली उपलब्ध छ । बाजुराको पाँच, बझाङको एक, अछामको दुई, बैतडीको तीन, दार्चुलाको दुई पालिका अझै पनि बिजुलीको पहुँचबाट टाढा छ । दार्चुलाको नौगाड र अपिहिमाल गाउँपालिकामा राष्ट्यि प्रसारण लाईनको बिजुली पुगेको छैन् ।
प्राधिकरणका अनुसार देशभर ६२ लाख १८ हजार तीन सय ९५ घरधुरी रहेकामा तीमध्ये ८९ दशमलव ७० प्रतिशतमा बिजुली पुगेको छ । प्रदेश नं १ मा ८६ दशमलव ९५ प्रतिशत, प्रदेश नं २ मा ९९ दशमलव ६६ प्रतिशत, वाग्मतीमा ९५ दशमलव ९१ प्रतिशत, गण्डकीमा ९५ दशमलव ६८ प्रतिशत, लुम्बिनीमा ९४ दशमलव ९१ प्रतिशत, कर्णालीमा ४३ दशमलव ८७ प्रतिशत र सुदूरपश्चिममा ७१ दशमलव ०७ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । प्राधिकरणले धेरैजसो ठाउँमा ११ र ३३ केभी क्षमताका प्रसारण लाइनमार्फत बिजुली दिएको छ । ती प्रसारण लाइनको क्षमता वृद्धि गर्ने र ट्रान्सफर्मर थप क्षमताको राख्ने लक्ष्यका साथ प्राधिकरणले काम गरिरहेको छ । यसबाट गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध हुनेछ ।
कर्णाली प्रदेशको कुल तीन लाख ४७ हजार नौ सय ३६ घरमध्ये अहिलेसम्म ४३ दशमलव ८७ प्रतिशतमा मात्रै बिजुली उपलब्ध भएको छ । पश्चिम रुकुममा ७५ दशमलव ०२, सल्यानमा ५२ दशमलव ८८ प्रतिशत घरमा विद्युतीकरण हुँदा मुगुमा १९ दशमलव ६४, जाजरकोटमा १६ दशमलव १५, जुम्लामा १९ दशमलव ३० प्रतिशतमा सीमित छ । विवरणअनुसार सुर्खेतको तीन, दैलेखको तीन, जाजरकोटको चार, डोल्पाको ६, जुम्लाको पाँच, कालीकोटको एक, मुगुको तीन, हुम्लाको चार पालिकामा बिजुली उपलब्ध हुन सकेको छैन । पहाडको बिजुली तानेर तराइ र सहरमा झिलिमिलि भएपनि पहाडी दुर्गम गाउँहरु अझैपनि अन्धकारमा छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया