दार्चुला । बैतडीमा कार्यरत एक प्रहरी हवल्दारमाथि बालिका अपहरण गरेका आरोप लागेको छ। सुर्नया गाउँपालिका वडा नम्बर २ पलेटा घर भएकी १६ वर्षीया उपासना चन्दलाई बैतडीको सत्बाँझ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार गजेन्द्रबहादुर बिष्टले अपहरण गरेको आरोप लागेको हो।
सिलाई सिक्नका लागि उपासना अछामको ठाटीखानमा बस्दै आएकी थिइन्। प्रहरीले सोही ठाउँबाट उनलाई अपहरण गरी बन्धक बनाएको उपासनाका दाजु कर्णबहादुर चन्दले दाबी गर्नुभयो । चन्दले बिहीबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै प्रहरी हवल्दार बिष्टमाथि कारबाहीको माग गर्नुभएको छ ।
उहाँले प्रहरी हवल्दारले नै उपासनालाई अपरहण गरेको केही प्रमाण फेला परेको निवेदनमा उल्लेख गर्नुभएको छ । कात्तिक १८ गते उपासनाका परिवारले उनी हराएको भन्दै खोजी गरिदिन आग्रह गरेको थियो । तर पछिल्लो समय बुझ्दै जादा हवलदार बिष्टले फोनको सीम खरीद गरि उपासनालाई दिएको भेटिएको र सोही फोनबाट कुराकानी हुने गरेको भेटिएको समेत निवेदनमा उल्लेख गरिएको छ । उपासनालाई बिष्टले अपहरण गरी बन्धक बनाएको आरोप लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन सबै राजनीतिक दल र महिला अधिकारकर्मी संघसंस्थाहरुलाई समेत बोधार्थ पठाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया