दार्चुला । नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेसनमा दुई पक्षबिच झडप भएर मतगणनाको सुरुवात भयो भने आधाभन्दा बढी मत गणना गरिसक्दा अनपेक्षित नतिजा आएपछि उम्मेदवारहरुले नै मतपेटिका साटेर धादली गरेको आरोप लगाएका छन् । जिल्ला उपसभापतिका उमेदवार उमेश खत्रीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मतपेटिका परिवर्तन गरेर धाँदली गरेको आरोप लगाएका छन । मतगणना जारी रहेकै बेला सामाजिक सन्जाल मार्फत उहाँको यस्तो प्रतिक्रिया आएको हो । उहाँले फेसबुकमा लेख्नुभएको छ, मतपेटिका नै चेन्ज गरेर धादली गरेर चुनाव जित्नुथ्यो भने यतिका कार्यकर्ताहरू यो जाडोमा किन खलंगामा अलपत्र पार्नुपर्थ्यो र । लाजनीति ।

मंसिर ७ गते मंगलबार दार्चुला सदरमुकाम खलंगास्थित खुलामंञ्चमा उद्घाटन भएको कांग्रेश अधिवेसन अन्तरगत सोहि दिन बेलुकी भावना सभाहलमा नेतृत्व चयनका लागि बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा नेतृत्व चयनबारे सहमति जुट्न नसकेपछि बुधबारदेखि निर्वाचन प्रकृया सुरु भएको थियो । निर्वाचन सम्पन्न भएपछि विहिबार राती ११ बजेदेखि मतगणना जारी छ । दार्चुला विकास संगठनको हलमा सुरु भएको मतगणना विविध कारण बताउदै महेन्द्र नमुना माबि खलंगामा सारीएको छ । मतगणनास्थलसंगै मतपेटिका समेत साटेर धाँदली गरेको केही उम्मेदवार र कार्यकर्ताको आरोप छ ।
मतगणना नसकिदै कार्यक्रमका प्रमुख अतिथि एबं नेपाली कांग्रेश केन्द्रीय समिति सदस्य, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू धनगढी प्रस्थान गर्नुभएको छ । प्रदेश अधिवेसनको जिम्मेवारीमा भएकोले मन्त्री बडू धनगढी प्रस्थान गरेको बताइएको छ । मन्त्री बडू गृहजिल्लामै भएकोबेला कार्यकर्ताहरुबिच झडप भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । बिहिबार राती झडपमा घाइते भएका तीन जना कार्यक्रतालाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाबाट पिथौरागढ रेफर गरिएको छ ।
विहिबार राती नेपाली कांग्रेश दार्चुलाको मतगणनास्थल दार्चुला विकास संगठनको हल बाहिर झडप हुदा घाइते भएका तीन जनालाई थप उपचारको लागि भारतको पिथौरागढ रेफर गरिएको हो । घाइते तीनै जनालाई विहिबार राती ११ बजे जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । शरीर, हात, नाक र टाउकोमा चोट देखिएपछि उनिहरुलाई थप उपचारका लागि पिथौरागढ रेफर गरिएको हो ।
सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिह धामी पक्षबिच मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला झडप भएको थियो । बोहरा पक्षले धामी पक्षका कार्यकर्ताहरुलाई मतगणनास्थलमा प्रवेश गर्न अवरोध गरेपछि झडप भएको र झडपमा धामी पक्षका केहि कार्यकर्ता घाइते समेत भएका थिए । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँद लगायत रहेका थिए । कांग्रेशका एक नेताले बताएअनुसार राजेन्द्र बिष्टको हातमा, सुरेश बिष्टको टाउकोमा र बसन्त बहादुर साउदको नाकमा बढी चोट लागेको छ । घाइते हुनेहरु सभापतिका उम्मेदवार धामीको गृहक्षेत्र शैल्यशिखर नगरपालिकाबासी हुन् ।
नेपाली कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन अन्तरगत क्षेत्र १ (क) को मतगणना शुक्रबार दिउँसो नै सम्पन्न भइसकेको भएपनि क्षेत्र (ख) को मतगणना राती १० बजेदेखि मात्रै सुरु भएको छ । दिउँसोपछि मतगणनास्थल दार्चुला विकास संगठनको हलबाट महेन्द्र नमुना माबि खलंगामा सारीएको छ । धामी पक्षिय नेताहरुले क्षेत्र (क) बाट सुनियोनित असहयोग भएको प्रतिक्रिया दिएका छन् । अहिले क्षेत्र (ख) को मतगणना सुरु भएको हो ।
क्षेत्र नम्बर १ (क) को ५३७ मत गणना हुदा सभापतिमा ललितसिह बोहराको ३७९ मत प्राप्त भएको छ भने सभापतिका अर्का उम्मेदवार अमरसिह धामीको १४५ मत मात्रै प्राप्त भएको छ । उपसभापतिमा महादेब बडू कश्यपको सबैभन्दा बढी ३७२ मत छ । ललितसिह ठगुन्ना २९५, उमेशसिंह खत्री ११७, शन्तोषकुमार सिह ऐतवाल ८४ र मानबहादुर बमको ६४ मत छ । सचिवमा पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ४१६, माधवराज भट्टको २२०, महेन्द्रप्रसाद बडूको १७३, बिरसिह डडाल १००, महेशसिंह धामी ६२ र देबसिह धामीको ४१ मत प्राप्त भएको छ । सहसचिवमा राजु अवस्थी २७३, राजेन्द्रप्रसाद जोशी २८५, सन्तोष दयाली १६२ र जयानन्द जोशीको ९५ मत प्राप्त भएको छ ।
अहिलेसम्म दार्चुला सदरमुकाम खलंगासमेत रहेको क्षेत्र (क) को मतगणना भएकोले क्षेत्र (क) गृहक्षेत्रभएका उम्मेदवार नेताहरुको अग्रता देखिएको छ । क्षेत्र (ख) को मतगणनाको तयारी भइरहेको छ । सभापतिमा बोहरा क्षेत्र (क) घर भएका हुन भने अमरसिह धामी क्षेत्र (ख) का हुन् । मतगणना सुरु हुनैलाग्दा दुबै पक्षबिच झडप भएपछि मतगणना निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् ।
बोहरा पौडेल पक्षका उम्मेदवार रहेको र मन्त्री बडू समेत पौडेल पक्षमै रहनुभएको छ । अमरसिह धामीलाई भने देउवा पक्षको उम्मेदवारका रुपमा हेरिएको छ । गोकुलेश्वरसहितको (ख) क्षेत्र अमरसिह धामीको गृह क्षेत्र भएकोले मतान्तर घटबढ हुने अनुमान गरिएको छ । यद्धपी (क) क्षेत्रमा बोहराको मतान्तर दोब्बर भन्दा बढी भएकोले बोहरा सभापति बन्ने सम्भावना बढेको नेताहरु बताउछन् । कसले निर्वाचनमा बाजी मार्छ भन्ने कुरा (ख) क्षेत्रका मत गणना गरेपछि एकिन हुनेछ । नेताहरुको प्रतिक्रिया हेर्नेहो भने कांग्रेश दार्चुलाको अधिवेसनमा आन्तरीक लोकतन्त्रलाई कुण्ठित गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




