दार्चुला । नेपाली कांग्रेश दार्चुलाको नेतृत्व फेरी व्यास गाउँपालिका घर भएका ललितसिह बोहराले पाउनुभएको छ । सातौँ जिल्ला अधिवेसनबाट सभापतिमा बोहरा विजयी हुनुभएको हो । खसेको कुल ९५६ मतमध्ये ६२० मत प्राप्त गर्दै सभापतिका उम्मेदवार ललित सिंह बोहरा विजयी हुनुभयो । सभापतिका अर्का उम्मेदवार शैल्यशिखरका अमरसिह धामीले ३०९ मत मात्रै प्राप्त गर्नुभयो । बोहरा दोब्बर बढी ३११ मतान्तरले विजयी हुनुभएको हो ।
उपसभापतिमा नौगाड गाउँपालिका घर भएका ललितसिह ठगुन्ना ५४० र महाकाली घर धएका महादेब बडू (कश्यप) ४८२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिवमा दुहुँ गाउँपालिका घर भएका पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ६६५ र शैल्यशिखर घर धएका माधवराज भट्ट ४०५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सहसचिवमा महाकाली नगरपालिका घर भएका राजु अवस्थी ५६९ र लेकम गाउँपालिका घर भएका राजेन्द्रप्रसाद जोशी ४२८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । यस्तै जिल्ला कार्यसमिति सदस्य खस/आर्य तर्फबाट इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, शेरसिंह धामी, भानसिंह धामी, जिल्ला कार्यसमिति सदस्य गापा/नपाबाट नविन चन्द, बहादुर सिंह खत्री, अमर बहादुर विष्ट, गंगादत्त जोशी, जिल्ला कार्यसमिति सदस्य अपांगता अल्पसंख्यकमा दानी गिरी, जिल्ला कार्यसमिति सदस्यमा करन सिंह धामी, भागरथी देवी धामी, दिलिप सिंह कार्की, सरस्वती कुँवर, बाशुदेव बडू, हंसराज भट्ट, बिन्दु अवस्थी, भागरथी पाल, देवमा लोथ्याल, महेश सिंह ठेकरे, बीर सिंह धामी, हरिना भट्ट, अर्जुन ठगुन्ना, देउमती धामी, सन्जा धामी, जिल्ला कार्य समिति सदस्य (महिला) तर्फ कलावती ठेकरे, माया भट्ट, शान्ती देवी धामी, दलिततर्फ मदनराम लुहार, श्याम सिंह सिनाल, आदिवासी जनजातीमा धिरन सिंह बुढाथोकी निर्वाचित हुनुभएको छ । एक हजार ४३ मतदाता मध्ये प्रदेश क्षेत्र (क) मा ५३८ र (ख) बाट ४१८गरी कुल ९५६ मत खसेको थियो ।
कांग्रेशको वर्तमान कार्यसमिति सभापति र प्रथम सचिव व्यास र दुहुँ गाउँपालिकावासी हुन् । निर्वातमान कार्यसमितिमा समेत सभापति र सचिव दुबैजना व्यास गाउँपालिकाबाट निर्वाचित भएका थिए । कांग्रेशले लेकम क्षेत्रलाई सधै उपेक्षा गर्ने गरेको स्थानीय केहि नेताहरुको आरोप छ । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा थिए । युवादेखि जिल्लाका पुराना नेताहरु समेत पराजित भएका छन् । महाधिवेसन प्रतिनिधिमा उम्मेदवार बनेका सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दा बम र कांग्रेश दार्चुलाका पुराना नेता मदन गिरी लगायत नेताहरु पराजित हुनुभएको छ । निर्वाचनमा निश्चित पात्रहरुलाई विजयी गराउन कांग्रेशका केन्द्रिय सदस्य तथा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले अघोषित ह्वीप जारी गरेको र मतगणनामा समेत धाँदली भएको उम्मेदवारहरुले नै आरोप लगाएका छन् । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका थिए । पार्टीमा लामो समय त्याग गरेका केहि पुराना नेताहरु समेत पराजित हुनुले राम्रो सन्देश नदिएको एक नेताले बताउनुभयो ।
नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेसनमा दुई पक्षबिच झडप भएर मतगणनाको सुरुवात भएको थियो भने आधाभन्दा बढी मत गणना गरिसक्दा अनपेक्षित नतिजा आएपछि उम्मेदवारहरुले नै मतपेटिका साटेर धादली गरेको आरोप लगाएका थिए । जिल्ला उपसभापति पदमा पराजित युवा नेता उमेश खत्रीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृत्वले ह्वीप जारी गरेको र मतपेटिका परिवर्तन गरेर धाँदली गरेको आरोप लगाउनुभएको छ । नेता खत्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिबेशनमा मन्त्रीको हुइप काम नलागे पछि मतगणना स्थल सार्दै गणना स्थगित गर्दै मान्छे कुट्दै मतपेटिका चेन्ज गर्दै चुनाब जित्ने हरु लाई हार्दिक बधाई शुभकामना छ । मंसिर ७ गते मंगलबार दार्चुला सदरमुकाम खलंगास्थित खुलामंञ्चमा उद्घाटन भएको कांग्रेश अधिवेसन अन्तरगत शनिबार विहान नतिजा सार्वजनिक गरिएको हो । दार्चुला विकास संगठनको हलमा आधाभन्दा बढी मत गणना सकेपछि शुक्रबार बेलुकी मतगणनास्थल महेन्द्र नमुना माबिमा सारीएको थियो ।
मतगणना नसकिदै कार्यक्रमका प्रमुख अतिथि एबं नेपाली कांग्रेश केन्द्रीय समिति सदस्य, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू धनगढी प्रस्थान गर्नुभएको छ । प्रदेश अधिवेसनको जिम्मेवारीमा भएकोले मन्त्री बडू धनगढी प्रस्थान गरेको बताइएको छ । मन्त्री बडू गृहजिल्लामै भएकोबेला कार्यकर्ताहरुबिच झडप भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । बिहिबार राती झडपमा घाइते भएका तीन जना कार्यक्रतालाई थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाबाट पिथौरागढ रेफर गरिएको छ । शरीर, हात, नाक र टाउकोमा चोट देखिएपछि उनिहरुलाई थप उपचारका लागि पिथौरागढ रेफर गरिएको हो । सभापतिका उम्मेदवार ललितसिह बोहरा र अमरसिह धामी पक्षबिच मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला झडप भएको थियो । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँद लगायत रहेका थिए । कांग्रेशका एक नेताले बताएअनुसार राजेन्द्र बिष्टको हातमा, सुरेश बिष्टको टाउकोमा र बसन्त बहादुर साउदको नाकमा बढी चोट लागेको छ । घाइते हुनेहरु सभापतिका उम्मेदवार धामीको गृहक्षेत्र शैल्यशिखर नगरपालिकाबासी हुन् ।
सभापतिमा निर्वाचित बोहरा पौडेल पक्षका उम्मेदवार रहेको र मन्त्री बडू समेत पौडेल पक्षमै रहनुभएको छ । अमरसिह धामीलाई भने देउवा पक्षको उम्मेदवारका रुपमा हेरिएको छ । आफ्नै भूगोलका साथीहरुले समेत धोका दिएपछि पराजित हुनुपरेको धामी निकट नेताहरुले बताएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




