भारतले दार्चुला प्रशासनलाई भन्यो–कालापानी–लिम्पियाधुरामा नेपालीलाई जान नदेऊ (पत्रसहित)

दार्चुला । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई लिखित रुपमा आग्रह गरेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जी लगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।

बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, पत्रमा भनिएको छ, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गएको वा जान चाहेको कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।

नेपालले हालै कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गरेको छ । विगतमा व्याँसी सौँका समुदायलाई आवतजावत गर्न दिने क्षेत्रमा समेत पछिल्लो समय आवतजावतमा पूर्ण रोक लगाएको छ । गत महिना सशस्त्र प्रहरीको छाङरु बीओपीबाट सुरक्षाकर्मीहरुको टोलीले कालापानी क्षेत्रमा जान खोजेपनि भारतीय एसएसबीले डेढ किलोमिटर वरबाटै कालापानी क्षेत्रमा जान नदिने माथिको आदेश छ भन्दै फर्काइदिएको थियो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आवतजावत गर्न सकिने सम्भावना नै नभएकोले उक्त क्षेत्रमा नेपाली समूह प्रवेश गरेको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो ।

केहि दिन पहिले प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेल नेतृत्वको टोलीले छाङरु क्षेत्रमा निरीक्षण भ्रमण गर्दा समेत त्यस्तो कुनै सूचना प्राप्त नभएको उहाँले बताउनुभयो । ‘अहिले बाढी पहिरोको बेला छ, लकडाउनको बेला छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘हामीलाई कसैले त्यहाँ जान दिएन भनेर पनि भनेको छैन र कसैले म त्यहाँ पुगेर आएँ पनि भनेको छैन ।’ उहाँले कतिपय कुरा हल्लाको भरमा पनि आउने गरेको बताउनुभयो ।

भारतले नेपाली भूमिमा नेपालीहरुलाई नै प्रवेश गर्न नदिने गरेको र उल्टै तथ्य र प्रमाणविना नेपालीहरुले अतिक्रमित भूमिमा प्रवेश गरे भनेर संका उपसंका गर्ने गरेको हुनसक्ने जानकारहरु बताउछन् । भारतीय प्रशासनले दार्चुला प्रशासनलाई पठाएको पत्र भारतको हेपाहा र मिचाहा प्रबृतिको पराकाष्टा भएको धेरैको बुझाइ छ ।

नेपाल सरकारले हालै कालापानी नजिक छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक गोरेटो बाटोको ट्र्याक खोल्ने काम भइरहेको छ । तर भारतीय भूमि त के भारतले अतिक्रमण गरेको नेपाली भूमिमा समेत नेपालीहरुले प्रवेश गर्न पाइरहेका छैनन् ।

केहि दिन पहिले नेपाल सरकारको ढुवानी अनुदानमा हेलिकप्टरमार्फत व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रु र टिङ्करमा एक–एक सय क्विन्टल चामल पुर्याइएको थियो । यस्तै छाङ्रुको गागा भन्ने स्थानमा झोलुङ्गे पुलका सामान पनि हेलिकप्टरमार्फत् नै पुर्याइएको छ । यसैगरी माथिल्लो कौवा र तिकंरमा सुरक्षा पोष्ट राख्ने तयारीसमेत गरिएकोले विगतको जस्तो सीमा क्षेत्रमा मनलाग्दी अतिक्रमण र प्राकृतिक स्रोतको दोहन गर्न नपाएकोले भारतले विभिन्न हतकण्ठा अपनाएर सीमा क्षेत्रमा दबदबा कायम गर्न खोजेको हुनसक्ने जानकारहरु बताउछन् ।

भारतले दार्चुला प्रशासनलाइ पठाएकाे पत्र हेर्नुहाेस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?