दार्चुला । दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्नका लागि परिचयपत्र देखाउनुपर्ने भएको छ । पिथौरागढमा सम्पन्न भारत–नेपाल समन्वय समितिको बैठकमा परिचयपत्रको आधारमा मात्रै सीमा क्षेत्रमा मानिसहरुलाई आवतजावत गर्न दिने विषयमा अधिकारीहरुबिच सहमति भएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले भन्नुभयो, अहिलेसम्म सीमा क्षेत्रबाट जो पनि सिधै प्रवेस गर्न सक्ने परिस्थिति भएकोले एक आपसमा विभिन्न किसिमका गतिविधि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै परिचयपत्र अनिवार्य गर्ने समझदारी भएको हो । कुनैपनि परिचय खुल्ने परिचयपत्रको आधारमा आवतजावत गर्न दिने र समस्या बुझेर आवश्यक सहजिकरण समेत गर्ने विषयमा सहमति भएको उहाँले बताउनुभयो । टाढाबाट आएको मान्छे कसैसंग परिचयपत्र नभएको अवस्थामा भने स्थानीय प्रशासनसंग सहजिकरण गरेर समस्या समाधान गर्न सकिने उहाँको भनाई छ ।
दार्चुला सदरमुकाम खलंगास्थित झोलुगें पुलघाटमा भारतीय एसएसवीले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन साइनबोर्डमा सूचना नै राखेको छ । नेपालीहरुका लागि मात्र नभइ नेपालबाट भारत जादा र भारतबाट नेपाल आउदा दुबैतर्फ दुबै देशका नागरिकले परिचयपत्र देखाउनुपर्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । हरेक दिन किनबेच, मदजुरी गर्न र अन्य काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीहरुको पुलमै लाइन लगाएर एसएसविले नागरिकता वा अन्य परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेस दिइरहेको खलंगाका व्यापारी रबिन्द्रबहादुर बमले जानकारी दिनुभयो । परिचयपत्र देखाउनकै लागि लाइन बस्नुपर्दा समय बढी खर्च हुनुका साथै सास्ती भोग्नुपरेको उहाँको गुनासो छ ।
पुलमै लाईन लगाएर एसएसबीले नेपाली नागरिकहरुलाई ‘डोट्याल’ भन्दै हेप्ने गरेको बमले बताउनुभयो । राहदानी, नागरिकता, मतदाता परिचयपत्र, विद्यालय वा सरकारी कार्यालयको परिचयपत्र मध्ये एउटा परिचयपत्र देखाए सजिलै भारत प्रवेस गर्न सकिने सुरक्षा अधिकारीहरु बताउछन तर सीमानाकामा भारतीय एसएसबीले नेपाली नागरिकहरुलाई विभिन्न बाहानामा दुःख दिने गरेको गुनासो छ । जयसिह धामी बेपत्ता प्रकरणको अनुसन्धान र व्यास गाउँपालिका–१ छाङरू र तिङ्करमा जनगणना गर्न समेत असहयोग गरेको भारतीय प्रशासनले विभिन्न बाहानामा नेपालीहरुमाथि दुव्र्यवहार गर्ने गरेको नागरिकको गुनासो छ ।
समस्या समाधानका लागि भारतीय पक्षसंग समन्वय भइरहेको दार्चुला उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले बताउनुभयो । सीमामा नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि धार्चुला व्यापार मण्डलका अध्यक्ष भुपेन्द्र थापासंग कुरा गरेको थिए, उहाँले भन्नुभयो, चाइनाबाट घुसपैठ भएको भारतीय पक्षको बुझाइ छ, हामी नेपालीहरुलाई मात्र हैन भारतीय नागरिक नेपाल जादापनि आधारकार्ड हेर्ने गरिएको जवाफ दिनुभयो । दार्चुला सदरमुकाम खलंगामा कपाल काट्ने शैलुन थापेर बसेका अधिकाशं भारतीय मुस्लिम धर्मका नागरिक भएकोले भारतमा पाकिस्तान र चिनिया घुसपैठ हुनसक्ने खतरालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीहरु बताउछन् ।
भारतले परिचय पत्र लागु गर्ने नियम पालना गराउन सहयोगका लागि नेपाली पक्षसंग समेत अनुरोध गरेको छ । परिचयपत्र लागु गर्ने विषयमा सहमति भएपनि अनावश्यक हैरानी नदिन आग्रह गरिएको दार्चुला प्रशासनले जनाएको छ । स्थानीय प्रशासन, सुरक्षा अधिकारी र उद्योग बाणिज्य संघ दार्चुलाले समेत सबै नेपाली नागरिकलाई सीमा क्षेत्रमा जादा अनिवार्य परिचयपत्र बोक्न अनुरोध गरेका छन । भारतले छियालेक देखि अतिक्रमित भूमि लिम्पियाधुरासम्मको क्षेत्रमा नोटिफाइड एरिया घोषणा गरेर कडा सुरक्षा व्यवस्था गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया