दार्चुला । दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका तीन वटा वडामा मतदान कार्यक्रम गरिएको हो। वडा नम्बर २, ३ र ६ मा मतदानका साथै सचेतनामुलक कार्यक्रम समेत गरिएको छ ।
बालबालिकाहरुलाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्ने विषयमा मतदान गर्न लगाइएको छ। बुधबार मालिकार्जुन गाउँपालिका वडा नम्बर २ को राष्ट्रिय मावि ठिङ र विहिबार मालिकार्जुन माबि मडमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको ग्रामीण विकास समाज नेपाल दार्चुलाकी सहजकर्ता बिस्ना धामीले जानकारी दिनुभयो ।
राष्ट्रिय मावि ठिङमा गरिएको मतदानमा २०८ जनाले बालवाविह गर्नु ठिक होइन भन्नेमा र १० जनाले बालविवाह गर्नु ठिक हो भन्नेमा मतदान गरेको उहाँले बताउनुभयो । जम्मा खसेको २२० मतमध्ये २ मत बदर भएको थियो। बिहीबार गाउँपालिकाको वडा नम्बर ३ मा मतदान कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । मालिकार्जुन मावि मडमा भएको मतदान कार्यक्रममा २५५ जनाले मतदानमा सहभागिता जनाएकोमा बालविवाह गर्नु बेठिक भन्नेमा २२५ र ठिक हो भन्ने पक्षमा २९ जनाले मतदान गरेको उहाँले बताउनुभयो । एक जनाको मत बदर भएको छ ।
मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकामा गुड नेवर्सको सहयोगमा बालविवाह नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । मालिकार्जुनसहित जिल्लाका विभिन्न स्थानीय तहमा अझैपनि बालबिबाह हुने गरेको छ । विद्यालयमा बालक्लब सक्रिय गराएर बालबिबाह नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेपनि लक्ष्य अनुसार प्रगति हुन नसकेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया