दार्चुला । दार्चुलाको उच्च हिमाली क्षेत्रसहित पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ । आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
उहाँकाअनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर नै परेको छ । आज काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ । भोलि भने प्रदेश १ र २ बाहेकका प्रदेशमा मौसम खुल्ने अनुमान गरिएको छ ।
प्रदेश १ र २ मा भने यो प्रणालीको प्रभावले भोलि दिनभर पनि मौसम सामान्यदेखि पूर्ण बद्ली हुने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यस्तै, पर्सि फेरि पश्चिमी वायुको प्रभावले पश्चिमी क्षेत्रमा असर पर्न सक्ने देखिएको उहाँले बताउनुभयो ।
हिउँदे बर्षाका कारण चिसो बढेकाले चिसोबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । चिसोको समयमा बालबालिकाहरुलाई न्यूमोनिया लगायतका संक्रमण हुन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने चिकित्सकहरुको सुझाब छ । वृद्धवृद्धाहरुमा दम लगायतका श्वासप्रश्वास सम्बन्धि विभिन्न समस्या हुन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने सुझाव छ । चिसोको समयमा तातो र झोलिलो खानेकुरामा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया