अनुभव/विचार/ब्लग: उमेशसिंह धामी । पत्रकारिता अनुुभवले आफ्नो भोगाई बोल्ने मौका यस कुराबाट सुरु गर्न मन लाग्यो । मैले मेरो पत्रकारिता जीवनका झन्डै ६ बर्षमा ४ बर्ष ग्रामीण क्षेत्रकै पत्रकारितामा बिताए । ग्रामीण क्षेत्रमा पत्रकारिता गरिरहदा थुप्रै समस्या र चुनौतीहरु झेल्नु पर्यो, एकातिर आर्थिक विषय आफैमा संवेदनशील, त्यसमाथि कम मान्छेको चासो, त्यसमा पनि अलि संवेदनशीलतामा ख्याल राख्नैपर्ने, अझ अर्को समाजका चुनौतीमा खेल्नुपर्ने । यतिधेरै कुराहरु जोडिएको सवालमा अध्ययन चाहिने, मेहनेत हुनुपर्ने, लगाव उत्तिकै आवश्यक, सामाजिक रुपमा स्वीकार्यता भएको हुनुपर्ने, स्थलगत अवलोकन, भ्रमण, वस्तुस्थितिको टिपोर्ट र त्यसको विश्लेषण, थप प्रतिक्रिया यस्ता विषय आफैमा जटिल र समस्याजन्य पेसामा पत्रकारिता छ । त्यसमा पनि गाउँबाट पत्रकारिता गर्नु र स्थापित हुनु आफैमा एक चुनौतीको सवाल रहेछ।
नेपालको भूूगोलका हिसाबले पनि ग्रामीण क्षेत्र अधिक ओगटेका कारण त्यहाँको जनजीवनलाई सूूचित गर्ने पत्रकारिता, सामाजिक जागरण आवश्यक छ । तर स्थानीय स्तरबाट त्यहाँको आवाज मुखरित नहुनु ग्रामीण पत्रकारिताको जटिलता हुन सक्छ । पेसागत सुरक्षा र स्रोत साधनको अभाव लगायतका विभिन्न कारणहरु छन जसले ग्रामीण पत्रकारिता थप चुनौतीपुर्ण छ। त्यत्ति मात्र होइन, हरेक ठाउँमा घुसेको राजनीतिले, गामीण क्षेत्रबाट पत्रकारिता टिक्ने वा नटिक्नेमा अर्थ राखेको पाइन्छ । दलगत झुकाव, दलीय आस्थाका आधारमा बनाइएका मानसिकता र समाजका घटनालाई कसरी मिडियामा उतार्ने भन्ने सवाल, सानो ठाउँका लागि ठूलो सवाल हुने गर्दछ । आमसञ्चार, सञ्चारकर्मी र मिडिया जगतलाई राज्यको चौथो अंग भन्ने गरिएपनि अर्थहीन परिभाषाको चपेटामा हाम्रा सञ्चारमाध्यम, सञ्चारकर्मी अर्थात पेशागत रुपमा पत्रकारहरु शाब्दिकताको बहसमा छौं । सधै आलोचक भएको भन्ने आरोप लागेका आमसञ्चार र त्यसमा क्रियाशील पत्रकार अनी हामीले गरेको पत्रकारिता कर्म दोषको भकारी जस्तो छ ।
पत्रकारिता जीवनमा हामीले अध्ययन गरेको समाज, हाम्रो पत्रकारिता र पत्रकारको भूमिका व्यवहारमा त्यसको प्रयोग ग्रामीण क्षेत्रबाट हेर्दा नूनमा बालुवाको घुलन जस्तो चूूनौतिपूर्ण छ । हामीलाई समाजले ग्रहणगर्ने अवस्था, आस्थाको परिचय, उमेर परिपक्कताको परिचय, संस्थागत जिम्मेवारीको परिचय पहिलो स्थानमा छ । कर्म र कार्यको परिचय त्यसपछि छ । कारण, हामीले विद्यमानमा ग्रामीण पत्रकारिताको विषयलाई बुझ्न र मनन गर्न सहज हुनेछ । मैले देखेको र बुझेको सवाल, हाम्रो पत्रकारिता टिकाउ, बिकाउ र सिकाउको अवस्थामा छ । आमसञ्चारमा पस्केको सामाग्री कति बिक्छ, त्यो सामाग्री पस्कने पात्र ‘पत्रकार’ कति समय सञ्चारमाध्यममा टिक्छ र उसको कर्मबाट समाजले के सिक्छ भन्ने नै छ । हामी पत्रकार अरुलाई सिकाइराखेका हुन्छौं । आफ्नो कर्मबाट स्वयं आफै के सिक्छौं भन्ने पनि हो । समाजमा देखिने गलत प्रवृत्ति, विकृति विसंगति विरुद्धको आवाज भनेका छौं । त्यसो नभएर विसंगति निवारण अभ्यास भन्न जरुरी छ । कहिलेकाहीं समाजका हामी पत्रकार पात्रहरु समेत त्यहाँ हुन्छौं, भेटिन्छौं किनकि त्यही समाजका उत्पादन हौं । पत्रकारिता कर्म गर्दैमा दुधले नुहाएको अभिनय गर्नु, त्यस्तो पात्र हो भनेर हामीमा दम्भ प्रकट हुनु, अन्तरमनको भ्रम पनि हुनसक्छ ।
पत्रकारिताले समाचार लेखेर मात्रै धारोसम्म पानी आउँदैन, कुप्रथा हट्दैन, विभेदको पूर्ण निरुपण हुँदैन, भ्रष्टचार, अनियमीतता घट्दैनन् तर अभ्यास हामीले चेतनाको लागि गर्ने हो । नियमनकारी नभएपनि निगरानीको प्रयत्न गर्ने हो, तर कहिलेकाहीं हाम्रा कलमहरु विग्रह र विद्रोहका लिगमा उभिंदैगर्दा, आलोचनात्मक चेत सहितको खबरदारी गर्दै गर्दा, स्वयं पत्रकार र उसको पत्रकारितामा नीजी वा समुहगत स्वार्थका बाछिटाहरु देखिन्छन् । त्यसमा केही राजनैतिक चिन्तन, प्रवृत्ति र आशयहरु समेतको मिलावट हुन्छन् । त्यसकारण समाजलाई अर्थहिन बाटोका लागि यो पेशा आवश्यक होईन । पेशाले अधर्म गर्न सिकाएको पनि छैन । तर समाजबाट सिकेका सकरात्मक कुरा अघि सार्ने र नकरात्मक सवाललाई सही विश्लेषण गरि पस्कने क्षमता राख्यौं भने, भूगोल, ठाउँ विशेष र गाउँ भनेर पत्रकारिता ओझेलमा पर्दैन ।
आज समाजमा जो कोहीले आफ्नै घटना, त्यो सकरात्मक होस् वा नकरात्मक छिटो, छरितो, विश्वसनीय र भरपर्दो माध्यमबाट खोजी रहेको हुन्छ । सूचनाको प्राप्ती र आवश्यकताको तिर्खामा जनमानस छ । समाजको सूचनामा सत्य, तथ्य र विश्वसनीयता हाम्रा आमसञ्चार माध्यमहरुले दिनसक्नुु पर्दछ भन्ने सामुहिक र सामाजिक मान्यता छ । जसका लागि सञ्चार माध्यममा विश्वसनीय पात्र छनौट गर्नु र उनीहरुबाट समाजलाई सू–सुचित गर्ने कार्यको पछिल्लो चरणमा व्यापकता बढेको छ ।
पत्रकारिताको एक क्षेत्र समाज परिवर्त हो । हामी समाज परिवर्तनकै लागी पत्रकारिता गरिरहेका छौ । परिवर्तन भन्ने दृष्टिकोणबाट समाजलाई हेर्ने र काम, कर्मले बदल्न खाजेको त्यही समाजसँग आफै टक्कर गर्ने हाम्रो पेशाले आफैलाई सुरक्षित राख्न नसकेको अवस्था छ । पत्रकारिता समाजको ऐना हो, समाजमा भइरहेका हरेक कुरालाइ जस्ताको त्यस्तै त्यहि समाज सम्म पुर्याउनु हो । तर समाजमा सधै सकरात्मक कुरामात्र हुँदैनन् । नकरात्मक कर्ममा त्यस समाजकै मान्छे संलग्न हुन्छन् । उनीहरुको कर्म जस्तो छ त्यस्तै बताउने काम पत्रकारको हो । त्यो ऐनाको काम गर्दा, आफ्नो अनुहार विग्रेको देख्ने समाजको त्यो पात्रले त्यही अनुहार देखाउने ऐना फोर्न तयार हुन्छ ।
पत्रकारिता गरिरहदा सिकाइको समस्या होला । समाजलाई जान्ने, बुुझाईको समस्या होला । आफ्नो सरल पहिचानको समस्या होला । पेसागत सुरक्षामा गतिलो आम सञ्चारमाध्यमको समस्या होला । कति दिन यो पेसामा रहिन्छ, पेसाको भविष्यको समस्या होला । आफ्ना व्यक्तिगत चुनौती र सवालहरु एकातिर जटिल नै होलान् तर आजसम्म जो जसरी टिकेको छ वा पेसामा क्रियाशील छ उसलाई हेर्ने सही दृष्टिकोणको समेत समस्या उत्तिकै छ । तर मेरो अर्थमा कर्ममा क्रियाशील, सक्रिय, इमान्दार र झुझारु सञ्चारकर्मीलाई हामी आफैले पनि त्यही सकारात्मक दृष्टिका साथ एक अर्काप्रतिको व्यवहारमा एकरुपता आवश्यक छ ।
अर्कोतिर मूलधारका सञ्चार माध्यमहरु जस्लाई भनिएको छ वा मोफसल भन्दा भिन्न सञ्चार गृहले ग्रामीण पत्रकारितालाई सिधै अवमूल्यन गरिरहेका हुन्छन् । उनीहरु संस्थागत रुपमै एउटा स्ट्रिङजर राख्न गाउँको बर्खिलापमा छन् । ग्रामीण क्षेत्रमा त्यही दुःख गरेर पत्रकारिता पेसामा रहेको पत्रकारको सदरमुकामबाट रिपोर्टर बनेर सहयोग चाहियो भन्ने बोली अधर्मी छ । यसले ग्रामीण पत्रकारितालाई टेवा दिंदैन । बरु ग्रामीण पत्रकारको पसिना र मर्म चुस्दछ । पत्रकारबीचको सहकार्यले पेसामा सहजता त देला तर पेसागत रुपमा अन्तरमन भने भाँचिदिन्छ । यसका कैयौं खराबीहरु ग्रामीण क्षेत्रका पत्रकारले भोगेका छौं ।
आफुलाई समाजसँग तुलना गरौं । समाजले तपाई हामीलाई दया, मायाँ करुणा बाँडेको छ वा घृणाका पात्र परिभाषित गरिदिएको छ त्यो पनि बुझौं । समाजमा हामी जे खोज्छौं, त्यही भेट्याउँछौं । राम्रो खोज्यौं राम्रो र नराम्रो खोज्यौं नराम्रो यही समाजबाट पाउँछौं । पात्रको प्रवृत्ति समेत हामी खोजकर्ताको अभ्यास, अभ्यासको निरन्तरता र निरन्तरताले अंगालेको अभ्यस्त मानसिकताले बोक्छ । सायद पत्रकारितामा मानसिकताले बोलेको लेख्छौं, पढाउँछौं । समाजले समेत सकरात्मक भन्दा नकरात्मक सवालमा बढी रुची देखाएको भएर होला, हामीले लेख्ने र बोल्ने गरेको प्रवृति पत्रकारिताले समाजलाई सिकाएको पनि त्यही हो । आज जनमानसमा पत्रकार, पत्रकारिता भनेको नकरात्मक कुरा लेख्ने, बोल्ने पात्र हुन् र आमसञ्चार माध्यमहरु समाज सचेतनाको नाममा गलत कुरामात्र औंल्याउने र देखाउने थलो हुन भन्ने परिसकेको छ । अव त्यस्तो चूनौतिको पार लाग्ने गरि पत्रकारिता गर्नुपर्ने छ । यदि पत्रकारिता पेसा गर्ने हो, पेसामा क्रियाशील रहने हो र हाम्रो उपस्थितिको औचित्य पुष्टि छ कि, छैन भन्ने विषयमा आत्ममुल्याँकन गर्ने हो भने, समाजका दृष्टि बदल्ने हिम्मत हामीसँग पनि छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया