दार्चुला । दार्चुलाका दुई स्थानीय तहलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले सुदूरपश्चिमका २० सहित ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको बताइएको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन्। बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका गरी ४ स्थानीय तहमा रहेका छन्।
यस्तै डोटीका ५ स्थानीय तहमा दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका रहेका छन्। यस्तै बाजुराका २ स्थानीय तहमा हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका दुई स्थानीय तहमा सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
ती स्थानीय तह बाढी, पहिरोलगायतका विपद्बाट प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । उहाँका अनुसार ती स्थानीय तहमा क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने छ। दार्चुलाको अपिहिमाल गाउँपालिकामा यातायात असुविधाका कारण खाद्यान्न अभाव लगायतका समस्या देखिएका छन् । भने दुहुँ गाउँपालिका बाढीपहिरोका कारण क्षतविक्षत भएको छ ।
गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको बताइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया